कर्णाली जाने नेपालगन्जको नीति तथा कार्यक्रमै घोषणा
नेपालगन्ज उपमहानगरपालिकाको ७ औं नगरसभामा सम्बोधन गर्दै मेयर डाक्टर राणा । तस्विर : सेतोखरी
नेपालगन्ज : बाँकेको नेपालगन्जलाई प्रस्तावित लुम्बिनी प्रदेशको राजधानी बनाउनुपर्ने नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।
उपमहानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार उक्त प्रदेशको राजधानी नेपालगन्ज नभए बाँके र बर्दियाका लागि प्रदेश सरकारले जति ललिपप बाँडेपनि कर्णाली प्रदेशमा मिसिनुको विकल्प नभएको चित्रण गरिएकोछ ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनका लागि चौतर्फी पहल र दावव आइरहेको अवस्था र कर्णाली प्रदेशले पनि समाहितका लागि समहमति जनाइसकेको हुदाँ प्रस्तावित लुम्बिनी प्रदेश सरकारले बाँकेको नेपालगन्जलाई राजधानी घोषणा नगरे नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा फेरी सशक्त आन्दोलन अघि बढ्ने पनि उक्त नीति तथा कार्यक्रम मार्फत चेतावनी दिइएकोछ ।
देश संघीय संरचनामा गइसकेको लामो समय वितिसक्दा पनि प्रदेश पाँचको राजधानी अझै तोएिको छैन । पटक–पटकको पहलमा प्रदेश तथा संघीय सरकारले नेपालगन्जलाई ललिपप मात्र पस्किरहेको बेला नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै उक्त कुरालाई समेट्दै यस्तो निर्णय गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले यसअघि बाँके र बर्दीयाका सर्वपक्षिय तथा सर्वदलीय ऐक्यबद्धता सहित बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न लभिङ्ग शुरु गरेका थिए । लगत्तै कोरोना भाइरस महामारीका कारण सेलाएको आन्दोलनलाई पहिलोपटक उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेपछि प्रदेश पाँचको राजधानी सगैं बाँकेको भविष्य तय भएकोछ ।
उपमहानगरपालिकाको सातौं नगरसभाबाट पारित उक्त नीति तथा कार्यक्रममै प्रदेश पाँचको राजधानी नेपालगन्जलाई दिइनुपर्नेमा जोड गरिएकोछ । यदि नेपालगन्जलाई प्रदेश पाँचको राजधानी नदिइए कर्णाली प्रदेशमा गाँभिने नीति तथा कार्यक्रमले यतिबेला सर्वाधिक चर्चा बटुलेकोछ ।
प्रदेश सरकारले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने आन्दोलन तुहाउनका लागि बाँकेको खजुरामा विश्व विद्यालय स्थापना गर्ने निर्णय गरि बाँकेबासीलाई ललिपपको सानो टुक्रा उपलब्ध गराएको छ ।
प्रदेश सरकारले बुटवललाई राजधानी स्वीकार्न बाध्य बनाउनका लागि बाँके बर्दियाको हितमा भन्दै उक्त ललिपप बाँडे पनि यो दीर्घकालिन नहुनेमा स्थानीय जानकारहरु बताँउछन् ।
बुटवललाई राजधानी स्वीकार्नु भन्दा बाँके बर्दिया कर्णालीमा मिसिनुनै उपयुक्त हुने उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्सेर राणाले यसअघिदेखि नै बोल्दै आएकाछन् ।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउन आफू र आफ्नो सरकार ईच्छुक भएका बताउँदै यसका लागि कर्णाली प्रदेश सरकारले जुनसुकै सहयोग गर्न तत्पर रहेको यसअघि बताएकाछन् ।
संघीय सरकार तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बाँके, बर्दिया र कर्णालीबासीको चाहाना र भावना अनुसार यी दुई जिल्लालाई कर्णालीमा मिसाउन संविधान नै संसोधन गर्नुपरे पनि आफू र आफ्नो दल तयार रहेको यसअघि एक सार्वजनिक कार्यक्रममै बताइसकेकाछन् ।
त्यसैले पनि बाँके र बर्दिया कर्णाली प्रदेशमा मिसिने कुरामा दुईमत देखिदैन । तराईका यी दुई जिल्ला कर्णालीमा मिसिने, बुटवललाई राजधानी अस्विर्काने लविङ्गमा लागेपछि उनीहरुलाई सरकारको निर्णय मान्न बाध्य बनाउनकै लागि प्रदेश सरकारले खजुरा विश्वविद्यालयको अवधारणा ल्याई बाँकेबासीलाई ललिपपको स्वाद चटाएको खजुराकै स्थानीय ऋषी पोखरेल बताउँछन् ।
उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै नेपालगन्जलाई प्रदेश पाँचको राजधानी बनाइनुपर्ने अन्यथा कर्णाली प्रदेशमै गाभीने भन्ने उल्लेख गरिसकेपछि यसले नीतिगत रुपमै आधिकारिकता पाएकोछ ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा भएको नगरसभाबाट नेपालगन्ज उप–महानगरपालिकाले कृषि र स्वास्थ्यमा जोड दिदैं आगामी आर्थिक वर्ष २०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।
बुधबार भएको ७ औं नगरसभामा नगर प्रमुख डाक्टर राणाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयगत क्षेत्रलाई समेट्ने गरि कार्यक्रम पेश गरिएको जानकारी दिए ।
कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट दिइने कार्यक्रममा उल्लेख गरिनुका साथै कृषिलाई कार्यक्रममा प्राथमिकता दिइएको छ । यसैगरी स्वास्थ्य संस्था निर्माण र स्वास्थ्य सेवा प्रभावकारी बनाउन जोड दिइएको छ ।
उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारमा चक्रपथ निर्माणको काम अघि बढाउने, पक्की सडक र नाला निर्माण कार्यलाई निरन्तरता दिने, सडक मापदण्ड तयार गरि कार्यान्वयन गराउने उल्लेखछ ।
यस्तै विपन्नको आयस्तर उकास्न विपन्न वर्गसँग स्थानीय सरकारको अवधारणमा साझेदारी विकास कार्यक्रमलाई परिस्कृत र सघन रुपमा अघि बढाउने उल्लेख गरिएको छ ।
साथै कार्यक्रममा कृषि र पशुपालनलाई प्राथमिकता दिदै कृषकलाई प्रोत्साहन गरिनेछ भनिएको छ । विद्यालय समायोजन तथा छात्रा विद्यालय र कलेज निर्माण सम्पन्न गरिने सञ्चालन गरिने उपमहानगरपालिकाको नीति तथा कार्यक्रमममा उल्लेख गरिएको छ ।
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल गर्ने कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत पारित भएको प्रबक्ता प्रमोद रिजालले जानकारी दिए ।