डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकोछ । गाउँपालिकाको बुधबार बसेको सातौं गाउँसभाले दुई वटा विधियेक पारित गर्दै ३६ बुँदे नीति तथा कार्यक्रम सहित साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निमार्ण लगायतका ३६ बुंदे महत्वपूर्ण नीती तथा कार्यक्रम सर्वाजनिक गरेका हुन् ।
गाउँपालिकाको वडा नम्बर एकदेखि वडा नम्बर ६ सम्म क्रमशः सडक विस्तार र स्तरोन्नती, १५ शैयाको अस्पताल निमार्ण, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरीय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायीक खेती प्रबद्र्धन, घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक, एकल महिला, तथा पीछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, हेलीप्याड निमार्ण, एफएम सञ्चालनको सम्भाव्यता अध्ययन, घरघरमा स्वास्थ्य, घरघरमा एसइइ, घरदैलोमा पशु सेवा तथा उपचार, कन्या मुद्दती शिक्षा योजना लगायत कार्यक्रमलाई प्राथमिकता दिइएकोछ ।
यसैगरि अध्यक्ष चौधरीले आर्थिक वर्ष २०७७।०७८ का लागि ५६ करोड ५७ लाख ५ हजार ३ सय ४४ को बजेट प्रस्तुत गरेकाछन् । संघीय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्र्तगत उक्त बजेट विनियोजन गरिएको हो ।
सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन विधियेक २०७७ र डुडुवा गाउँपालिकाको आर्थिक विधियक २०७७ प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत दुई वटा विधेयक र नीति, कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको छ । गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाँ, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमण कोभिड– १९ को बेला सामाजिक दूरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।