पोखरामा एक कोरोना संक्रमितको मृत्यु, पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि


पोखरामा एक कोरोना संक्रमितको मृत्यु, पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

File Photo

नेपालगन्ज: पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको जानाएको हो ।

प्रतिष्ठानका सह प्राचार्य डाक्टर अर्जुन आचार्यका अनुसार ती पुरुषको उपचारका क्रममा बुधबार राती ११.३५ बजे निधन भएको हो । असार ८ गते अस्पताल भर्ना भएका तीलाई कोभिड–१९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस–२ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको हुदाँ बुधबार राती निधन भएको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ ।

कोभिड–१९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो । 

यसैबीच बिहीबार पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

यस्तै भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २ सय ३४ वटा नमुना परीक्षणका लागि आएकोमा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १ सय ८ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राती अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको छ । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको हो ।

प्रदेश पाँचको जिल्लागत रुपमा कपिलवस्तुमा ७ सय ४, बाँकेमा ३ सय ५०, पाल्पामा ३ सय ३९, दाङमा ३ सय २८, रुपन्देहीमा २ सय ६६, अर्घाखाँचीमा २ सय ५०, गुल्मीमा २ सय ४७, प्युठानमा १ सय ८४, बर्दियामा १ सय ५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।