मृत्यु : २६, डिस्चार्ज : २६५०
नेपालगन्ज : कोरोना भाइरस संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेकोछ । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेपछि थप चुनौती बढेकोछ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाबाट गरिएको परीक्षणबाट थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ३४ जनामा संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ । भने देशभर कुलसंक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० वर्षका पुरुषको निधन भएको हो । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।
मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो ।
नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटनमा रेफर गरिएको थियो । पाटनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११.३५ बजे निधन भएको हो ।
ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोभिड–१९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस–२ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।