कोरोना अपडेट : शुक्रबार थपिए ५९३, संक्रमित संख्या ११७५५ पुग्यो


कोरोना अपडेट :  शुक्रबार थपिए ५९३, संक्रमित संख्या ११७५५ पुग्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या १२ हजार नजिक पुगेकोछ । पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसगैं नेपालमा कोरोना भाइरस संक्रमित संख्या १२ हजार नजिक पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङ्गमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार थप भएका ५ सय ९३ जना संक्रमित संख्या सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । जसमा बाँकेबाट थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म कुल संक्रमितमध्ये २७ जनाको मृत्यु भएको छ । प्रवक्ता डाक्टर गौतमका अनुसार देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । भने रसुवा जिल्लामा मात्र कोरोना संक्रमण हालसम्म देखिएको छैन ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक/एक जनामा संक्रमण देखिएको छ ।