नेपालको जनसंख्या तीन करोड बढि

२०७८ असारमा जनगणना हुने


नेपालको जनसंख्या तीन करोड बढि

नेपालगन्ज: १२ औं राष्ट्रिय जनगणना हुन एक वर्ष बाँकी रहदै नेपालको जनसङ्ख्यामा बढोत्तरी भएकोछ । त्यसो त बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको पाइएकोछ ।

केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना रहेको देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५ सय ४ थियो । तर, १२ औं राष्ट्रिय जनगणा हुन एक वर्ष बाँकी रहदै नेपालमा थप ३५ लाख ४६ हजार १ सय ३० जना थपिएकाछन् । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

यो आँकडालाई हेर्दा नेपालमा दैनिक जनसंख्या बृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या बृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् ।

लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुवै घट्दो क्रममा छ । बसाइँसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए । श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् ।

जनसंख्याका प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङ जनसंख्यामा यस्तो अनुकूलकता सधैं नआउने बताउँछन् । उनी भन्छन्, ‘देशले आर्थिक समृद्धि हाँसिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ।’