नेपालगन्ज: अन्यौलपूर्ण शैक्षिक अवस्थामा वैकल्पिक शिक्षा विधि नै निकासको माध्यम हुने भन्दै सोको वातावरण बनाउन जोड दिइएको छ ।
कोरोना संक्रमणको विषम परिस्थितीबीच तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन गराउन निर्देशिका ल्याएपछि सिकाई विधि अबलम्वन बारे बहस चुलिएको छ ।
नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाई सहजिकरण गर्न निर्देशिका ल्याइएपनि सो लागु गर्न अनेकन चुनौतीसँगै अन्यौलता रहेकाले सहजिकरणको आवश्यक्ताबोध गर्दै बाँकेमा शिक्षा सरोकारवालाबीच अन्तरक्रियात्मक सम्बाद गरिएको छ ।
सम्वाद समूह बाँकेको सहजिकरण तथा शिक्षा विकास तथा समन्वय इकाई बाँकेको समन्वयमा शुक्रबार नेपालगन्जमा वैकल्पिक शिक्षाः पहँुच र प्रभावकारितामा सरोकारवालाको भूमिका विषयमा अन्तर सम्वाद गरिएको हो ।
जिल्लाका ८ वटै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, स्वास्थ्य विज्ञ, सामुदायिक र संस्थागत विद्यालयका संघ÷ संगठन, निजी र सरकारी शिक्षकहरुका संघ संगठनका प्रमुख एवं प्रतिनीधी, विद्यार्थी नेता, अधिकारकर्मी र अभिभावक सहितको अन्तरसम्वादमा आवश्यक्ता र परिवेश अनुसार सरोकारबीचको सहकार्यमै वैकल्पिक सिकाई सहजिकरण अबलम्वन गर्नु पर्ने सुझाइएको थियो ।
सम्वाद समूहका सजहकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजिकरण गरिएको कार्यक्रममा सम्बाद समूह सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले कार्यक्रमको उद्देश्य, सम्वादको आवश्यक्ता र महत्वमाथि प्रकाश पारेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादवले विद्यमान अवस्थामा विद्यालय खोल्न सक्ने स्थिती नभएकाले वैकल्पीक शिक्षा सिकाईको अनिवार्य अवलम्वनको आवश्यक्ता औल्याए । उनले स्थानीय सरकार, शिक्षा शाखासँगको समन्वयमा शिक्षण सिकाईको वैकल्पिक बिधीको अध्यन र अभ्यासमा जुट्न सम्वद्ध सवैमा आह्वान पनि गरे ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजीशियन डाक्टर राजन पाण्डेले कोरानोमुक्त समाजको सुनिश्चितता अझैं नभएकाले विद्यार्थीलाई सुरक्षित राख्नु नै विद्यालयको पहिलो कर्तव्य हुनुपर्नेमा जोड दिए । कोरोना विशेषज्ञ डाक्टर पाण्डेले विद्यार्थीलाई वैकल्पिक सिकाईमा अभ्यासरत बनाउन अभिभावक पनि जिम्मेवार हुनुपर्ने सुझाव राखे ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख थापाले वैकल्पिक सिकाई सहजिकरण नै अहिलेको एकमात्र विकल्प रहेको दावी गर्दै पहुँच र प्रभावकारिता बारे भने अध्यन जरुरी रहेको बताए ।
यस्तै सम्बादमा खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद समूह सदस्य एकमाया विकले खजुरा गाउँपालिकाले वैकल्पिक शिक्षणको अभ्यास शुरु गरिसकेको भन्दै रणनीतिक योजनाअनुसार अघि बढने तयारी भइरहेको उद्घोष गरिन् ।
नेपाल शिक्षक महासंघ बाँके अध्यक्ष पवन यादवले धरातलीय यथार्थतालाई मध्यनजरगर्दै स्थानीय आवश्यक्ताअनुसार सिकाई विकल्प अवलम्वन गर्नु पर्ने सुझाए ।
निजी विद्यालयको भावना र मर्मलाई नबुझीकनै वैकल्पिक शिक्षा ल्याइएको भन्दै एन प्याब्सन बाँकेका अध्यक्ष श्याम कुँवरले स्थानीय सरकारले पनि निजी बिद्यालयलाई संरक्षण र सम्बद्र्धन गर्ने तत्परता नदेखाएको गुनासो गरे ।
यसैगरी सम्बादमा प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्यले वैकल्पिक शिक्षा अवलम्वन अघि पहुँच र प्रभावकारिता बारे पनि अध्यन गरिनुपर्ने आवश्यक्ता औल्याए । उनले निजी विद्यालयले अनलाईल कक्षाका नाममा शूल्क नलिएको र यदी लिने प्रयास गरिएको भए त्यो बन्द गर्न समेत आह्वान गरे ।
वैकल्पिक शिक्षा सम्बन्धि भएको सम्बादमा संस्थागत विद्यालय शिक्षक यूनियन बाँके अध्यक्ष गम बहादुर डाँगरले निजी शिक्षकहरुको रोजगारीको सुनिश्चिताको माग गर्दै स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय मानवअधिकार आयोग शाखा कार्यालय नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले विद्यार्थीको बाँच्न पाउने अधिकारलाई सुरक्षित राख्न जोड दिदै शिक्षण सिकाईमा सरकारी र निजी विद्यालयबीचको साझेदारीमा जोड दिए ।
खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले खजुरा गाउँपालिकाले अवलम्वन गरिरहेको शिक्षण सिकाई अभ्यास बारे अनुभव सुनाउँदै साउनदेखि विद्यालय खोल्ने गरि सर्वे गरिएको जानकारी दिए ।
नेपाल राष्ट्रिय अभिभावक संघ बाँकेका सचिव वसन्त लामीछानेले कुन सिकाई विधि अपनाउने भन्ने बारे साझा धारणा बनाउन अभिभावकहरु पनि सम्बेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए । यस्तै सम्बादमा अनेरास्ववियूका टेकेन्द्र मल्ल र नेविसंघका प्रतिनिधी चक्र रावतले वैकल्पिक शिक्षाका नाममा शूल्क असुल्न नहुने भन्दै सरकारका नीती निर्देशन पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
शुक्रबार गरिएको उक्त सम्बाद कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका भोज प्रसाद लम्सालद्वारा स्वागत गरिएको कार्यक्रममा सहभागीहरुबीच अन्तरक्रिया पनि गरिएको थियो । सार्वजनिक सरोकारका सवालमा सहजिकरण गर्दै आएको समूहले अर्को चरणमा स्थानीय सरकार प्रमुखसहित शैक्षिक सवालमा सहजिकरण गर्ने सम्बाद समुह बाँकेका सहजकर्ता शुक्रऋषी चौलागाईले जानकारी दिए ।