नेपालगन्ज: शनिबार विहान गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएकोछ । गण्डकीको प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो । यसरी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष छन् । सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १–१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डाक्टर विनोद विन्दु शर्मा बताँउछन् ।
यसैगरी प्रदेशको बागलुङ जिल्लामा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष छन् । बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
उता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट गण्डकी प्रदेशको नवलपुरमा थप २ जनामा कोरोना संक्रमण फेला परेको छ । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष रहेकाछन् ।
स्याङजा वालिङ र बर्दघाटका संक्रमित यसअघि नै संक्रमण पुष्टि भएको तर, अद्यावधिक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती २ ठाउँका संक्रमित पहिले नै आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका छन् । बाँकी संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ ।