नेपालगन्ज: मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र यसका साथै मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।
महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहेको र देशभरका थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
शनिबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना रहेको छ । आज राती देशको सातवटै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको संभावना रहेको विभागले जानकारी दिएको छ ।