रित्तिदै बाँकेका क्वारेन्टिन


रित्तिदै बाँकेका क्वारेन्टिन

File Photo

नेपालगन्ज: बाँकेका स्थानीय तहमा रहेका क्वारेन्टिनमा बस्नेको संख्या कम हुँदै गएको छ ।

जिल्लाभर रहेका १ सय १४ वटा क्वारेन्टिनमा हाल ६८१ पुरुष र १३५ महिला गरी ८ सय १६ जना मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनले भने– ‘भारतबाट आउनेको संख्यामा कमी आएसँगै क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएको छ ।’ हालसम्म १० हजार ६ सय २४ जना क्वारेन्टिनमा बसेर घर फिर्ता भएका छन् ।

यहाँको क्वारेन्टिनमा रहेका आठ हजार ८ सय ४२ जनाको आरडिटी परीक्षण गरिएको छ । २६९ जनालाई आरडिटी परीक्षण नगरी घर पठाइएको छ । बाँकेका क्वारेन्टिनमा ६ हजार २ सय ८ वटा शैय्या छ ।

बाँकेमा ३५० जना कोरोना संक्रमित फेला परेका छन् । दुईजनाको मृत्यु भएको छ । पीसिआरका लागि ६ हजार ७ सय ५१ जनाको स्वाब संकलन गरिएकोमा ६ हजार १ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।

उनले भने, ‘संकलन भएका स्वाब मध्ये दुई सय १९ वटा स्याम्पलको जाँच प्रक्रियामा रहेको छ ।’ हालसम्म १९ महिला र २ सय ७४ जना पुरुष कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ६४ जना कोरोना संक्रमितले आइसोलेशन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । भने दुई जनाको मृत्यु भएकोछ ।