६० वर्षपछि पहिलोपटक सलह नेपाल प्रवेश


६० वर्षपछि पहिलोपटक सलह नेपाल प्रवेश

File Photo

नेपालगन्ज : केही हप्ता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपाल प्रवेश गरेको पाइएको छ । शनिबार अचानक सर्लाहीमा करिब एक लाखको संख्यामा देखिएको उक्त किरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टी गरिसकेकाछन् ।

यतिबेला सलह किरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएकोछ ।

शनिबार बेलुकासम्म प्रदेश पाँचको बुटवलमा पनि सलह देखिएको पाइएकोछ । योसगैं नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो । तर, त्यो सबे झुटा साबित भएकोछ ।

यसपटक नेपालमा आएको सलह नेपालका लागि पहिलो घटना भने होइन । तर, सलहसगैं यीनले निम्त्याउने विपत्ति भने खतरनाक हुनेगर्छ । घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो ।

त्यसबेला सलहको प्रकोपले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । केन्द्रका अनुसार ‘त्यसबेला काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको अध्ययनमा देखिन्छ ।

नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका पूर्वी दुई जिल्ला बारा र सर्लाहीमा भित्रिएको छ । शनिबार बिहान बारा र सर्लाही जिल्लाका विभिन्न ठाउँमा सलह देखिएता पनि बेलुका सम्म प्रदेश पाँचका बुटवल लगायतका क्षेत्रमा देखिएका छन् । सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०१९ सुरुवाती महिनामा अहिले नेपाल आइपुगेको सलह यमनमा देखिएको थियो । यमनबाट अघि बढेको सलह साउदी अरेबिया, इरान हुँदै सो वर्षको डिसेम्बरमा पाकिस्तान आइपुगेको थियो ।

पाकिस्तानमा ठूलो क्षति गरेको सलह नयाँ वर्ष सन् २०२० को सुरुवातमा भारत र पाकिस्तान सीमा क्षेत्रमा लामो समय रहेको थियो । विस्तारै जाडो कम भएपछि पुनः बंश बृद्धि भई सलह भारत छिरेर विशाल झुण्डहरुमा तयार भएको अध्ययनले बताएको छ । र, त्यो झुण्ड भारतको राजस्थानबाट प्रवेश गरेर मध्यप्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अघिल्लो महिना नै अगाडि बढेको थियो ।