सलह प्रकोप : नियन्त्रणमा प्रदेश सरकारको ‘एक्सन’


सलह प्रकोप : नियन्त्रणमा प्रदेश सरकारको ‘एक्सन’

File Photo

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशको रूपन्देहीमा पनि सलह किरा देखिएपछि प्रदेश सरकार एक्सनमा गएको छ । उक्त किराबाट बालिनाली बचाउन सचेतना जगाउँदै प्रदेश सरकारले किराको खोजि शुरू गरेको छ । शनिबार दिउँसो उक्त किरा देखिएपछि प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको टोलीले यसको नियन्त्रणका लागि सक्रियता देखाएको छ ।

मन्त्रालयको टोलीले रूपन्देहीको भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा सलह जस्तै किरा देखा परेको सूचनाका आधारमा ती क्षेत्रमा स्थलगत अनुगमन समेत गरेको छ । रुपन्देहीको भैरहवा, बुटवलको सुख्खानगर, शिवनगर, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतको स्थानमा सलह जस्तै किरा देखिएपछि कृषि मन्त्रालयको टोली त्यहाँ पुगेको मन्त्रालयले बताएको छ ।

बुटवलस्थित नेपाली सेनाको ब्यारेकमा पनि सलह जस्तै किरा ठूलो संख्यामा देखिएको छ । सेनालाई सहल किरा हो वा होइन भन्ने एकिन गर्नका लागि उक्त किरालाई समातेर राखेको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे बताउँछन् । उनले सेतोखरीसँग कुराकानी गर्दै भने ‘रूपन्देहीमा देखिएको किरा सलह हो कि होइन भन्ने यकिन गर्नका लागि हामी सम्बन्धित स्थानमा गएर आएका छौं अब यसको अनुसन्धान हुन्छ र खास के हो थाहा भैहाल्छ ।’ फेला परेको किरा सलह नै हो भन्ने एकिन भएपछि नियन्त्रणका र थप आवश्यक कदमहरु चालिने उनले जानकारी दिए ।

नेपालमा भित्रिएका सलह किराले अन्नबाली खान थालिसकेका छन् । सलह जस्तो किरा देखिएको सूचनाछि प्रदेश पाँच र संघीय सरकारबीच छलफल भइरहेको उनी बताउँछन् । सलह नेपाल भित्रिएको खबरपछि शनिबारदेखि रूपन्देही मात्रै नभई प्रदेशका बाँके, बर्दिया लगायतका जिल्लाका किसान चिन्तित छन् । तर, भारतमा सलह देखिएपछि सो नियन्त्रणका लागि प्रदेश सरकारले बजेटसमेत बिनियोजन गरेको थियो । यसले पनि उक्त किरा नियन्त्रणमा सहयोग र सहज हुने देखिएको छ । प्रदेश सरकारले प्रदेशका सबै जिल्लाका किसान र कृषि कार्यालयलाई उक्त किरा नियन्त्रणका लागि लाग्न अनुरोध समेत गरिसकेको छ ।

मनसुन सुरु भएको १५ दिनपछि नेपालमा सलह प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष जेठ ३० मै मनसुन सुरु भएको हो । मन्त्रालयले सलह आउँदैन भन्ने प्रतिवेदन बुझाएको तीन हप्तापछि नै सलह भित्रिएको देखिएको छ । कार्यदलको प्रतिवेदन सर्वसाधारण तहबाट तयार पारिएको देखियो’ कृषि मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘विज्ञको नजरबाट नभई लिटरेचर रिभ्यू र अप्राविधिक अवलोकनको आधारमा बनाएको प्रतिवेदन फेल खानु अस्वाभाविक होइन ।’

अघिल्लो महिना नै भारतमा सलह प्रकोप देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा सलहको जोखिमबारे अध्ययन गरेको थियो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंको संयोजकत्वमा गठित समितिले जेठ २३ गते मन्त्रालयलाई नेपालमा सलह भित्रिन नसक्ने प्रतिवेदन बुझाएको थियो ।

यस अघि पनि भारतको राजस्थानसम्म जुलाई महिनामा पटक–पटक सलहको नयाँ झुण्डहरु आइरहने गरेको र अहिले आएको सलहको ठूलो झुण्ड पनि राजस्थान आइपुगेपछि तितर–बितर भएको प्रतिवेदनमा उल्लेख थियो ।

सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि दक्षिण एसियामा देखिएको सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम भएको विवरण सहदेव हुमागाइँ संयोजकत्वको समितिलाई दिएको थियो ।

एफएओको विशेष टोली भारतमा स्थलगत अध्ययनमा रहेको र उताको रिपोर्टमा पनि सलह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको भन्ने आएको छ, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका हुमागाईँले भने ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वाीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको थियो । समितिले तत्कालका लागि जोखिम टरे पनि विगतमा सलहले ठूलो क्षति निम्त्याएकाले सर्तकता अपनाउन भने मन्त्रालयलाई सुझाव दिएको थियो ।

सलह नियन्त्रणका लागि दक्ष प्राविधिक तयार गर्न तालिमको व्यवस्था गर्ने, किरा भित्रिएको खण्डमा नियन्त्रणका लागि स्रोत, साधनको यथोचित बन्दोबस्त गर्ने तथा तीनै तहको सरकारको तर्फबाट टास्कफोर्स बनाएर जिम्मेवारी बाँडफाँड गरेर तयारी अवस्थामा रहनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको समिति संयोजक हुँमागाई बताउँछन् ।

यो पनि पढ्नुहोस्

६० वर्षपछि पहिलोपटक सलह नेपाल प्रवेश