File Photo
नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आरटी पीसिआर मेशिन बिग्रिएकोछ । पीसिआर मेशिन बिग्रिएसगैं कोरोना जाँच प्रभावित बनेकोछ ।
मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेशिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।
प्रदेश अस्पताल सुर्खेतले प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसिआर मेशिन शुक्रबारदेखि बिग्रिएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेशिन मर्मतका लागि आईतबारबाट पहल थालिने भएको छ ।
‘शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरियो तर, हार्डवेयरमै समस्या देखियो’, डाक्टर तिवारीले भने, ‘मेशिन मर्मतका लागि अस्पतालले आज सप्लायर कम्पनीलाई पत्र काट्नेछ ।’
हार्डवेरमा समस्या देखिएका कारण आरटी पीसिआर मेशिन मर्मतमा समय लाग्नेछ । कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेशिन छन् । असार ५ गते दैलेखमा भित्रिएको पीसीआर मेसिन पनि सञ्चालनमा आइसकेको छैन ।
यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो ।