रेडियो सञ्चालक समितिसँग हरहिसाबको सूचना माग तयारी
नेपालगन्ज : पञ्चकोशी सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित दैलेखको पहिलो रेडियो पञ्चकोशी एफएमको दर्ता खारेज भएको छ । सरकारले उक्त रेडियोको दर्ता खारेज गरेको हो । लामो समयदेखि संस्था नविकरण गर्न संस्था सञ्चालकहरुले चासो नदेखाएपछि सरकारले रेडियोको लाइसेन्स नै खारेज गरिदिएको हो । उक्त रेडियोले लामो समयदेखि सरकारलाई कर समेत नतिरेको सूचना तथा सञ्चार मन्त्रालयले बताएको छ ।
तत्कालि अवस्थामा हरिहरसिंह राठौंर लगायतका केही व्यक्तिको सक्रियता र दैलेखका तत्कालिन ५५ गाविसको लगानीमा स्थापना भएको उक्त रेडियो जेनतेन एक वर्ष जति चलेको थियो । उक्त अवधीमा उक्त रेडियोको सञ्चालक समितिमा राठौर, भेषराज थापा, भुपेन्द्र शाही लगायतका व्यक्तिहरु रहेका थिए । रेडियोका संस्थापक सञ्चालक मध्येका एक हरिहरसिंह राठौर दैलेख छोडेर जाजरकोट गएसँगै थापा र शाहीले पालैपालो रेडियोको व्यवस्थापन सम्हालेको रेडियोमा तत्कालिन अवस्थामा कार्यरत कर्मचारी बताउँछन् ।
जेनतेन चलिरहेको रेडियोमा भुपेन्द्र शाहीले व्यवस्थापनको जिम्मवारी सम्हालेपछि रेडियोले केही गती लिएको थियो । तर, रेडियोका केही कर्मचारीले मिक्चरमा एसिड हालेर रेडियो बन्द गराएपछि जिल्ला कै पहिलो रेडियो सदाका लागि बन्द भएको तत्कालिन महासंघका अध्यक्ष थापा बताउँछन् । उनकाअनुसार पत्रकार महासंघको अध्यक्ष रेडियोको पदेन् सचिवका हुने प्रावधान थियो । उनी भन्छन् : रेडियोमा घटना घटेपछि त्यहि अनुरुप पदेन सचिवका हैसियतले व्यवस्थापन समितिसँग घटनाबारे बुझेको हो ।
राठौरको सक्रियता र पहलमा २०६३/०५/२० गते अनुमति प्राप्त गरेको उक्त रेडियोमा स्थापनादेखि अहिलेसम्म नकिरण समेत हुन नसकेको खुलेको छ । १०४ दशमलव ४ मेगाहर्जमा घन्किने उक्त रेडियोको १०० वाटको लाइसेन्स खारेज गरेको हो । उक्त रेडियोको लाइसेन्स खारेजीसँगै अहिले दैलेखका आम पत्रकारहरुमा निराशा छाएको छ । नेपाली रेडियोको दुनियाँमा त्यो बेला स्थापना भएको यो रेडियो अग्रणी रेडियोका रुपमा थियो ।
जिल्लाकै पहिलो सञ्चारमाध्यम नै यसरी खारेजी हुदाँ एकदमै दुःख लागेको दैलेखका पत्रकार विशाला सुनार बताउँछन् । उनी जस्तै नेपाल पत्रकार महासंघ दैलेखका पुर्व अध्यक्ष पुस्कर थापा भन्छन ‘सायद त्यो वचेको र बचाएको हुन्थ्यो भने सरकारद्वारा खोलिएको सामुदायिक रेडियो भनेर रेडियोहरुको मान चित्रमा चित्रण हुनेथियो ।’ उनी थप्छन ‘तर आज खारेज हुनेमा चित्रण हुँदा निकै दुखी बनाएको छ ।’ उनकाअनुसार दैलेखको पत्रकारिता खम्बा ढल्दा सबैलाई उत्तिकै दुःख लाग्नु, र नरमाइलो लाग्नु स्वाभाविक हो । उनी यसरी आवेग पोख्छन ‘जसरी त्यो अस्तु पार्न जो जति जिम्मेवार हुनु भो उहाँहरुलाई एक दिन इतिहासले सराप्ने छ ।’
दैलेखका अर्का पत्रकार प्रकाश अधिकारी जिल्लाको पहिलो रेडियोको संरक्षण गर्न नसक्नु ईतिहासको अपमान गर्नु भएको बताउँछन् । उनकाअनुसार तत्कालिन अवस्थामा गाविस र नगरपालिकाले व्यक्तिलाई नदिएर आफनै स्वामित्वमा उक्त रेडियो चलाउन सक्नुपथ्यो । त्यो नभएकै कारण अहिले यस्तो अवस्था भोग्नु परेको हो ।
रेडियो संरक्षण गर्न नसक्नुको कमजोरी सञ्चालक समितिको भएपनि एक्कासी लाइसेन्स नै खारेजी गर्नु सरकारको गलत नियत भएको अर्का पत्रकार निर्मल अधिकारी बताउँछन् । उनकाअनुसार सरकारले एक पटक चेतावनीसहित नविकरण र व्यवस्थापनका लागि अवसर दिनपथ्यो ।
उक्त रेडियो स्थापनाका लागि तत्कालिन दैलेखका सबै गाविसबाट प्रति गाविस २०÷२० हजारका दरले रकम संकलन गरिएको थियो । जिल्ला विकास समिति, नारायण नगरपालिका लगायतका स्थानीय तहले पनि केही सहयोग गरेको जनाएका छन् । तर, यी निकायले के कति कुन शिर्षकमा सहयोग ग¥यो भन्ने बारे रेडियोको सञ्चालक समितिले अहिलेसम्म सार्वजनिक गरेको देखिदैन् । तत्कालिन स्थानीय विकास कोषका प्रमुख रहेका दीलबहादुर शाहीका अनुसार स्थानीय विकास कोष, जिविसले पनि उक्त रेडियो सञ्चालनका लागि केही सहयोग गरेको छ ।
रेडियोका सञ्चालकमध्येका एक हरिहरंिह राठौरले आफू रहँदासम्म सबै हिसाब किताब मिलान गरि समितिमा पेश गरेको बताएका छन् । आफूले छोडेपछिको घटनाका बारे केही थाहा नभएको उनको भनाई छ । तर, अन्य सञ्चालक समितिका पदाधिकारीसँग यस बारेमा बुझन खोज्दा कसैसँथ सम्पर्क हुन सकेन । कतिपयले केही प्रक्रिया दिन चाहेनन् ।
रेडियोको लाइसेन्स नै सरकारले खारेज गरेपछि अहिले उक्त रेडियोको हरहिसाब र त्यहाँ प्रयोग गरिएका उपकरणको बिषयमा धेरैको ध्यानाकर्षण भएको छ । रेडियोको हरहिसाब खोजी हुनुपर्नेमा धेरैले आवाज उठाएका छन् । यसका लागि सूचना अभियान्ता तथा बरिष्ठ पत्रकार कमल न्यौपानेले तत्कालिन रेडियोको सञ्चालक समितिसँग केही साताभित्रै सूचना माग गर्ने तयारी गरेको बताएका छन् ।