सांसद ‘नमूना’को सक्रियतामा नरैनापुरमा विद्युत परीक्षण


सांसद ‘नमूना’को सक्रियतामा नरैनापुरमा विद्युत परीक्षण

File Photo

नेपालगन्ज : बाँकेको नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएसँगै आईतबारदेखि विद्युत सेवा शुरु भएको छ । बाँकेका प्रदेश सभा सदस्य सांसद कृष्ण केसी ‘नमूना’ को सक्रियता पहल तथा सम्बाद समूह, बाँकेको सहजिकरणमा नरैनापुरमा विद्युत सेवा शुरू भएको हो ।

एक महिनाअघि शुरु गरिएको विद्युत विस्तारीकरणपछि आईतबारदेखि परीक्षण प्रयोजनका लागि विद्युत प्रवाह गरिएको हो । गाउँपालिकामा विद्युत सेवा नहुँदा कोरोना संक्रमीतको बसाई, परीक्षण, उपचार लगायतमा समेत समस्या देखिएपछि प्रदेश सभा सदस्य कृष्णा केसीको सक्रियता र पहल र संवाद समूहको सहजिकरणमा विद्युत विस्तार अभियान थालिएको थियो ।

सम्वाद समूहले प्रदेश डिभिजन विद्युत प्राधिकरण नेपालगन्ज, जिल्ला प्रशासन लगायतका सरोकार पक्षसँग नियमित समन्वय र सहजिकरण गरेपछि जेठ १२ गतेबाट विद्युतीकरणको प्रक्रिया शुरु भएको थियो । समूहकै समन्वय र सम्वादपछि निषेधाज्ञाको जोखीमपूर्ण स्थितीबीच त्रीलोक रेणु कन्सट्रक्शनले विद्युतीकरण विस्तार शुरु गरेको हो ।

नरैनापुर–३ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्तीसहित सेवा प्रवाह र क्वारेन्टिनसम्म विद्युत पुर्याउन ठोस पहल नभइरहेको अवस्थामा समूहका तर्फबाट माननीय केसीकै पहलमा स्थानीय प्रशासन, गाउँपालिका, प्रदेश सरकार लगायत सरोकारपक्षसँग निरन्तर समन्वय र सहजिकरण गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाई बताउँछन् ।

नेपालगन्ज –फत्तेहपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युत लाइन पुगेपनि लक डाउनका कारण नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँयामा विद्युत पुग्न सकेको थिएन । विद्युत नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा (भ्याक्सिन, औषधी), सञ्चारका साधान (टेलीफोन, टिभी, ल्यापटप, मोबाईल) प्रयोग गर्न समेत अनेकन समस्या झेल्नु परिरहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिएपनि स्थानीयको माग र सबैको साथले अन्ततः नेपाल–भारत सीमा सुईयासम्म विद्युत परीक्षण शुरु गरिएको छ । विद्यतुीय तार, पोल, स्टे आदिमा चढ्ने, छुने कार्य नगर्न पनि प्राधिकरणले सबैमा सार्वजनिक अपील गरेको छ ।

विद्युत प्राधिकरण नेपालगनजका प्रमुख मुनिन्द्र ठाकुरले पछिल्लो चरणमा राप्ती सेनारी र नरैनापुर गाउँपालिकामा २५ सय विद्युत पोल गाडेर विद्युतीकरण गरिएको बताए । ठाकुरका अनुसार–हुलाकी सडकमा मात्र हैन, अब नरैनापुरका गाउँ–गाउँसम्म विद्युत सेवा पुग्दैछ । विशेष गरि अस्पताल लगायतका स्वास्थ्य संस्था, क्वारेन्टिन, सुरक्षा यूनिट र बैंक क्षेत्रमा विद्युत सेवा शुरु गरिसकिएको छ । मोतीपुरमा निर्माणाधिन आइसोलेशनका लागि समेत मटेहीया चोकबाट मोतीपुरसम्म विद्युत विस्तार गरिएको छ ।

मोतीपुरमा साँझ ५ः१५ मा बत्ती बालेको केही मिनेटपछि सुइया साइडमा पनि बत्ती बालिएको त्रिलोक रेणु कन्सट्रक्शनका प्रतिनिधी त्रिलोक धितालले जानकारी दिए ।

लकडाउनको एक महिने अवधीमा मटेहीया चोकदेखि सुइयासम्म १६ किमिमा चार सय ७० वटा पोल गाडीएको छ । धितालका अनुसार, प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्शनले मोतीपुर, लक्ष्मणपुर र सुईयामा ५० केभीको ट्रान्सफर्मर जडान गरेको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक शाहले विद्युत पहुँचले सेवा प्रवाहसँगै जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताएका छन् ।