नेपालगन्ज: नेपालमा कोरोना भाईरस संक्रमणको संख्या १३ हजार ५ सय ६४ पुगेकोछ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गमा आज मङ्गलबार थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको बताए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । भने कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।
कहाँ कहाँ थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ४८ संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जना छन् ।
यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र
लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२ छन् ।
ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
७ जिल्लामा संक्रमितको संख्या ५०० नाघ्यो
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ७ जिल्लामा संक्रमितको सख्ंया ७०० नाघेको छ । उनका अनुसार प्रदेश २ को महोत्तरी, रौतहट र सर्लाही, प्रदेश ५ को दाङ र कपिलवस्तु, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ ।