सलहले देउखुरी क्षेत्रको मकै नष्ट


सलहले देउखुरी क्षेत्रको मकै नष्ट

File Photo

नेपालगन्ज : सलहले दाङ देउखुरी क्षेत्रमा लगाइएको मकैबाली नष्ट पारिदिएकोछ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिका लगायतका क्षेत्रमा सलहका बथान देखिएका छन् । सलह देखिएको केही समयमै किसानले लगाएको मकैबाली नष्ट गरेको दाङ देउखुरीका स्थानीयबासी सरोज सुबेदीले बताए ।

राप्ती गाउँपालिकाको बराखुटी, लालमटिया, मसुरिया लगायत क्षेत्रमा लगाएको मकैबाली सलहले नष्ट गरेको छ । लगत्तै स्थानीयले थाल ठटाएर र धुँवा उडाएर सलह भगाएका थिए । तर, सलह नभागेपछि मकैको बोट हल्लाएर लखेटेको सुबेदीले बताए ।

राप्ती गाउँपालिकाका किसानहरू यसैवर्ष अमेरिकी फौजी किराबाट पीडित भएका थिए । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् । फौजी किराबाट जोगिन घरेलु औषधि छरेर पनि नभएपछि गाउँपालिकाले नै विषादी उपलब्ध गराएको थियो । सो गाउँपालिकामा थुप्रै बिघामा मकैबाली लगाइएको भएपनि कति क्षति भएको भन्ने बारे यकिन तथ्यांक नभएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी बताउँछन् ।

मकै दाङको प्रमुख खाद्यान्न बाली हो । मंगलबार नै राजपुर गाउँपालिका वडा नम्बर २ को चम्फानगर, गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर र लमही नगरपालिका वडा नम्बर ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको छ ।

यसअघि आईतबार दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा सलहको सानो झुण्ड देखा परेको थियो । त्यो झुण्डले बालीनालीमा क्षति नपु¥याउने भन्दै नआत्तिन कृषि ज्ञान केन्द्रले दाङबासीलाई आश्वस्त पारेको थियो । तर, मंगलबार एक्कासी सलहको ठूलो बथान दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा देखिएपछि किसानहरू त्रसित भएका छन् ।

यतिबेला सलह दाङमा देखिन थालेपछि पालिकाहरूले स्थानीय एफएम रेडियोमार्फत् सलह भगाउने घरेलु उपायसहितको सन्देश प्रवाह गर्दै आएका छन् ।