नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

एकैदिन १४६२ डिस्चार्ज


नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालगन्ज :नेपालमा कोरोना भाइरस संक्रमणको संख्या १४ हजारमाथि पुगेकोछ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गमा आज बुधबारमात्रै थप ४ सय ८२ जनामा संक्रमण देखिएको बताए । योसगैं नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ एक हजार ४ सय ६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । अहिलेसम्मकै सबैभन्दा बढि डिस्चार्ज आज नै भएका हुन् । भने कुल संक्रमितमध्ये ३० जनाको मृत्यु भएको छ ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

यस्तै, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

उपत्यकामा भेटिए १७ संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र दुई पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।