File Photo
नेपालगन्ज: कोहलपुर नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उप प्रमुख सञ्जु कुमारी थारुले मौखिक प्रतिबद्धता दिएपछि ताला खोलिएको हो ।
वडा ६ मा अलपत्र पारेका बिकास निर्माणका कामहरु तत्काल सुचारु गरि निर्धारित समय भित्रै सम्पन्न गर्ने मौखिक प्रतिबद्धता पछि ताला खोलिएको स्थानीय शिव डाँगीले जानकारी दिए ।
निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको काम प्रतिको लापरबाही र कोहलपुर नगरपालिकाको नियन्त्रण र निगरानीको अभावमा कोहलपुर क्षेत्रका सम्पुर्ण कामहरु अलपत्र परेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयहरुको शुक्रबार तालाबन्दी गरेका हुन ।
कोहलपुर ६ को डिभिएस चोकदेखी दक्षिण नहर पुग्ने बाटो कालोपत्रे गर्ने जिम्मेवारी निसान बिल्डर्स बैजनाथ–२ ले लिएको भएपनि लामो समयदेखि काम अलपत्र पारेर छाडेको स्थानीयको भनाई छ ।
प्रमुख रावत र उपप्रमुख चौधरीको मौखिक प्रतिबद्धता अनुसार तत्काल काम सुचारु गर्ने शर्तमा तालाबन्दी खोलिएको भएपनि आईतबारसम्म काम सुचारु नभए पुनः तालाबन्दी गरिने स्थानीयले बताएका छन् । समयमा काम सुचारु नगरे उक्त निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा लगिने पनि प्रमुख र उप प्रमुखले सहमति जनाएका छन् ।
पुर्वाधार बिकास कार्यक्रम अन्तरगत संघीय सांसद महेश्वर गहतराज अथकको संसद बिकास कोष मार्फत कोहलपुर नगरपालिका वडा नम्बर ६ को डिभिएस स्कुल देखि दक्षिण नहरसम्म जाने बाटो कालोपत्रे, सोहि सडकको बरको बुटोदेखि नमस्ते यातायतसम्म जाने बाटो कालोपत्रे, कोहलपुर–६ कै शिवमन्दिर देखी बुद्ध चोक आउने बाटो कालोपत्रे, नगरको गौरवको आयोजना अन्र्तगतको बाटो कालोपत्रे लागायतका कामहरु ठेक्कामा लिएका निर्माण कम्पनीहरुले चरम लापरबाही गरेको स्थानीयको भनाई छ ।
आईतबारसम्म काम सुचारु नभए कोहलपुर नगरपालिकाका साथै जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि निर्माण कम्पनीलाई कारबाहीका लागि प्रक्रिया थालिने स्थानीयको भनाई छ ।