विपदमा उद्दारका लागि हेलिप्याड निर्माण


विपदमा उद्दारका लागि हेलिप्याड निर्माण

File Photo

नेपालगन्ज: बाँके निर्वाचन क्षेत्र–१ ‘क’ का प्रदेश सभा सदस्य सांसद कृष्णा केसी ‘नमुना’को सक्रियता, पहल, मेहनतसँगै बाँकेका प्रजिअ रामबहादुर कुरूम्वाङको सकारात्मक विकास प्रेमीसोँच र सहयोगले बाँकेको राप्तीपारी क्षेत्रले विकासको मुहार फेर्दैछ ।

केही दिनअघि बिजुली बलेको उक्त क्षेत्रमा प्रदेश सांसद ‘नमूना’को पहल र प्रजिअ कुरूम्वाङको सक्रियता र सेनाको सहयोगमा प्रस्तावित लुम्बिनी प्रदेश सरकारले विपद्पूर्वको व्यवस्थापनका लागि पठाएको बजेटबाट हेलिप्याड निर्माण गरिएको छ ।

यसले यस क्षेत्रका नागरिकलार्य अब विपद्का बेला उद्दारमा धेरै सहयोग पु¥याउने भएको छ । बाढी प्रभावित क्षेत्रमा जनधनको क्षति हुन नदिन बाँके र बर्दियाका स्थानीय तहले हेलिप्याड निर्माण गरेका हुन् । हेलिप्याड निर्माणको काम नेपाली सेनाले गरेको हो । नेपाली सेनाका ईमान नगर ब्यारेक राँझाका प्रमुख नकुल थापाको नेतृत्वमा राप्तीपारी क्षेत्रमा तीनवटा हेलिप्याड निर्माण गरिएको छ ।

बाढीमा फसेका सर्वसाधारणलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गर्न हेलिप्याड निर्माण गरिएको हो । रात्रीकालिन अवस्थामा पनि हेलिकप्टर बस्न र उड्न सक्ने बनाइएको छ । प्रदेश सरकारले सबै पालिकामा हेलिप्याड बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए पनि बजेट कम भएको भन्दै अन्यत्र बन्न सकेको छैन ।

बाँके प्रशासन अन्र्तगत रहेको विपद व्यवस्थापन कोषले प्रदेश सरकारको उक्त बजेट जिल्लामा तीन वटा हेलिप्याडका लागि प्रति हेलिप्याड ४ लाख ९० हजारका दरले विनियोजन गरेको बाँकेका प्रजिअ कुरुम्वाङ बताउँछन् । विपद् व्यवस्थापनका लागि उक्त हेलिप्याड बनाउन बाँकेका प्रदेश सभा सांसद केसीको सक्रियता र प्रस्तावका आधारमा प्रदेश सरकार आन्तरिक मामिला अन्र्तगत सो रकम प्राप्त भएको विपद् व्यवस्थापन कोष बाँकेले जनाएकोछ ।

बाढीबाट अति प्रभावित बाँकेको नरैनापुर गाउँपालिकाको नयाँबस्ती, राप्ती सोनारीको फत्तेपुरमा हेलिप्याड बनाइएको छ । राप्ती नदीकै कारण दर्जनभन्दा बढी गाउँ कटान भएर विस्थापित भइसकेका छन् । ‘नरैनापुर र राप्ती सोनारीको फत्तेपुरमा हेलिप्याड बनाउने स्थान सहजै फाइनल भएको गाउँपालिकाले बताएका छन् । डुडुवामा स्थान निश्चित गर्न बाँकी रहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार प्रदेश सरकारले विपद्पूर्व व्यवस्थापनका लागि बाँकेलाई १५ लाख बजेट पठाएको थियो ।

बर्दियाको बाँसगढी, बारबर्दिया, राजापुर र गुलरिया नगरपालिकामा पनि हेलिप्याड बनाइएको छ । बबई नदीका कारण गुलरिया नगरपालिका र बारबर्दियाका दर्जनभन्दा बढी गाउँ विस्थापित हुँदै आएका छन् । बाढी आउनुपूर्व नै कार्ययोजना बनाएर काम गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी बताउँछन् । बर्दियाका लागि प्रदेश सरकारले विपद्पूर्वको व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट पठाएको उनले जानकारी दिए ।