बाढीले निर्माणाधिन लुङ्गखोला पुलमा क्षती


बाढीले निर्माणाधिन लुङ्गखोला पुलमा क्षती

नेपालगन्ज : स्याउलीभाङ्ग सडक खण्डको लुङ्गखोलामा निर्माणाधिन पुलमा बाढीले क्षती पुर्याएकोछ ।

शुक्रबार बिहान आएको बाढीका कारण प्यूठानको बहाने स्याउलीभाङ्ग सडक खण्डको लुङ्गखोलामा पुल निर्माणमा प्रयोग भएका प्री–स्ट्रेस फर्मा, स्टेजिङ्ग र अन्य निर्माण सामाग्रीहरु बगाएको हो ।

बाढीका कारण करिब ८० लाख बराबरको सामाग्री बाढीले बगाएको अमर कन्स्ट्रक्सन प्रालि काठमाण्डौ प्रतिनिधी दीपेन्द्र शाहीले बताए । नेपाल सरकार, सडक डिभिजन प्यूठान र अमर कन्स्ट्रक्सन प्रालि काठमाण्डौं बीच भएको सम्झौता अनुरुप उक्त खोलामा पक्की पुल निर्माण कार्य भइरहेको थियो ।

त्रिपक्षिय सम्झौता अनुरुप ४ करोड २७ लाख ६२ हजार ६ सय ५७ रुपैयाँ (भ्याट बाहेक) मा २०७७ मङ्सिर ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भै पुल निर्माण कार्य भइरहेको थियो । बाढीले निर्माणाधिन उक्त पुलको प्रीस्ट्रेस फर्मा, स्टेजिङ्ग तथा अन्य सामाग्री बगाएपछि यतिबेला निर्माण कार्य रोकिनुका साथै कम्पनीलाई ठूलो क्षती भएको छ ।

कोरोना महामारी र बन्दाबन्दीकाबीच पुलको ढलान भैसकेको भएतापनि बाढीले सम्पुर्ण सामाग्री ब्यवस्थापन पुर्व खोलामा आएको बाढीले डाइभर्सन र तटबन्धन समेत भत्काउँदा व्यवसयीले भारी क्षति ब्यहोर्नु परेको हो ।

गतवर्ष चैत्र महिनाको अन्त्यसम्ममा ढलान गर्ने लक्ष्य सहित निमार्ण कार्य प्रगति भएकोमा पुलको निर्माण कार्य कोरोना कहर र सरकारले गरेको बन्दाबन्दीले गत चैत्र ११ पश्चात बन्द भएको थियो । लकडाउन भए पश्चात निर्माण कार्य बन्द भएसंगै सबै कामदार घर गएको र उक्त साइडको निर्माण कार्य बन्द गर्ने तरखरमा रहेको कन्स्ट्रक्सन कम्पनीलाई शुक्रबारको बाढीले ठूलो क्षति भएको छ ।

स्थानीय निकाय, जनप्रतिनिधी तथा स्थानियबासीले निर्माण कार्य सम्पन्न गर्न अनुरोध र आवश्यक सहयोगको प्रतिबद्धता पश्चात पुनः जेठ महिनाबाट निर्माण कार्य शुरु गरिएको कम्पनीका प्रतिनिधी शाही बताउँदछन् ।

निर्माण कार्य थालनी पश्चात पनि गाडी र श्रमिकको पास र ढुवानीमा पटक–पटक समस्या आएको र सिमेन्ट लगाएतका अन्य आवश्यक निमार्ण सामाग्री सामान्य अवस्थाभन्दा धेरै महंगोमा खरिद गरि पुल निर्माण कार्य सम्पन्न गरेको भएपनि खोलामा अचानक आएको बाढीले ठूलो क्षति पुर्याएको र आफुलाई मार परेको कम्पनिका प्रतिनिधी दीपेन्द्र शाहीले सेतोखरीलाई जानकारी दिए ।

उक्त पुलको बीमा सगरमाथा इन्स्योरेन्स कम्पनीबाट भएको र इन्स्योरेन्स कम्पनीले उचित राहत दिएमा बाढीबाट क्षती भएकोमा केही राहत हुने शाही बताउँछन् ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दी त्यसमाथि बाढीले पु¥याएको क्षतीले निमार्ण कार्य प्रभावित हुनुका साथै व्यवसायीले सास्ती खेप्दै आएका छन् ।