नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेकोछ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा नेपालमा शनिबार थप २ सय ३२ जनामा संक्रमण देखिएको जनाए ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित नेपालमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय बृद्धको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएका ब्यक्तिमा कोरोना पुष्टि भएको । उनलाई असार १४ गते अस्पताल भर्ना गरिएको थियो ।
मन्त्रालयका अनुसार मृत्यु भएका ७५ वर्षिय बृद्ध क्षयरोगका बिरामी थिए । उपचारका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पीसिआर परीक्षण गरिएको थियो । उनको पीसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
शनिबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो ।
निर्देशनालयका अनुसार कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान ५ः५ बजे मृत्यु भएको हो । कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनी असार १७ गते कतारबाट नेपाल फर्केका थिए ।