नेपालगन्ज : दैलेखमा कर्मचारीदेखि जनप्रतिनिधि समेत कोरोना संक्रमित भएकाछन् ।
दैलेख नारायण नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई समेत कोरोना पोजेटिभ भएसगैं कार्यालयको कामकाज प्रभावित बनेकोछ ।
आर्थिक वर्ष समाप्तीका बेला नारायण नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुमा कोरोना देखिएपछि सर्वसाधारणहरुले कार्यालयबाट सेवा पाउनबाट बञ्चित भएका छन् ।
आईतबार मात्र थप पाँच जना नारायण नगरपालिकाका कर्मचारीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । शुक्रबार केहि जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव संकलन गरिएकोमा थप पाँच जना संक्रमित देखिएका हुन् ।
बाँकी कर्मचारी र जनप्रतिनिधिहरुलाई आज स्वाव संकलन गर्ने तयारी भईरहेको नगर प्रमुख रत्न वहादुर खड्काले जानकारी दिए । यस कार्यालयमा सात जना संक्रमित देखिइसकेका छन् ।
असार मसान्तको समयमा उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारण, स्वाव संकलन नभएका कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कार्यालयमा जान दिईएको छैन ।
कार्यालयबाट हुने कामहरुका लागि नगरपालिका अगाडि राखिएको टेवुलमा फाईलहरु जम्मा गर्ने र उक्त फाईलहरु दोश्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि वढाईने ब्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले जानकारी गराए ।
नारायण नगरपालिकामा हालसम्म जम्मा २३५ जना सक्रमित देखिएका मध्ये २२३ जना डिस्चार्ज भएर घर गईसकेका छन् । दैलेख जिल्लामा आईतबारसम्म ७८१ जना कोरोना संक्रमित देखिएका छन भने ७०३ जना डिस्चार्ज भएर घर गईसकेका छन् ।