जनप्रतिनिधीदेखि कर्मचारी हुँदै ३३ सुरक्षाकर्मी पनि संक्रमित
नेपालगन्ज : जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि दैलेखको नारायण नगरपालिकाको सेवा प्रबाहमा समस्या भएको छ । असार मसान्तको समयमा दैनिक कार्यालयलमा सयौंको संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।
उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामको लागि कार्यालयमा आएका सर्वसाधारणहरुलाई सेवा प्रवाहमा समस्या देखिएको सूचना अधिकारी प्रकाशकुमार बिसी बताउँछन् ।
कार्यालयबाट हुने कामका लागि नगरपालिका अगाडि टेबुल राखिएको छ । सेवाग्राहीहरुले टेबुलमा फाइलहरु जम्मा गर्छन् उनले भने ‘उक्त फाइलहरु दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाउने ब्यवस्था मिलाइएको छ । यसले गर्दा कार्यालयको सेवा प्रभावित भएको छ ।’
दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मी बताउँछन् । उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको अवस्था सामान्य छ । संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।
नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पष्टि भएको हो ।
दैलेखमा हालसम्म क्वारेन्टिनको सुरक्षार्थ खटिएका ३३ जना सुरक्षाकर्मी, ६ जना स्वास्थ्यकर्मी, ११ जना स्थानीय कर्मचारी र २ जना जनप्रतिनिधिमा संक्रमण देखिएको छ । दैलेख अस्पतालका कोरोना फोकलपर्सन रेग्मीका अनुसार २० जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र ४ जना नेपाली सेना गरी ३३ जना सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सुरक्षाकर्मीसहित ४४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितसँग नजिक रहेर काम गरेका सबैलाई परीक्षणको दायरामा ल्याइएको छ ।
दैलेखका संघीय सांसद रविन्द्रराज शर्माले आम नागरिकलाई सुरक्षाको प्रत्यभूति दिने गरि काम गर्न स्वास्थ्यकर्मी तथा स्थानीय तह र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । उनले कोरोना संक्रमणमा रहेका आम नागरिकलाई आईसोलेसशनमा बसेर सरकारलाई सहयोग गर्न तथा कोरोनामुक्त हुन अपील समेत गरेका छन् ।
दैलेखमा कोरोना कहर नियन्त्रण तथा आम नागरिकमा सचेतना अभिबृद्धिका लागि सञ्चार क्षेत्रले प्रचार प्रसारको अहम भूमिका खेल्नुपर्ने बरिष्ट पत्रकार तथा नेपाल पत्रकार महासंघ दैलेखका संस्थापक सचिव कमल न्यौपाने बताउँछन् । आम नागरिकलाई घरभित्रै बसेर सरकारको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग गर्न उनले आग्रह समेत गरेका छन् ।
दैलेखमा देखिएको कोरोना कहरको रोकथाम तथा न्यूनिकरणमा स्थानीय तहदेखि सबै एकजुट भएर लाग्नुपर्ने भेरी असपतालका प्रमुख डाक्टर प्रकाश थापा बताउँछन् । उनकाअनुसार कोरोनाको दैलेखमा जोखिम देखिएको यसलाई समुदायस्तरमा जान नदिन तत्काल सोँच्नुपर्छ ।आमनागरिकले कोरोनाबाट बच्न र बचाउँन सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने लगायतका सावधानी अपनाउनुपर्ने र सरकार तथा स्वास्थ्यकर्मीलाई सहयोग गनुपर्ने बताउँछन् । सोमबारसम्म दैलेखमा संक्रमितको संख्या ७८१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ ।