मेरा मित्र वेँकट भिमाराओले एकदिन लकडाउनको समयमा ईमरती खाने, कती दिन भो न खाएको भन्नुभयो, साँच्चीकै मलाई पनि खाउँखाउँ लाग्यो अनि हामी कसरी ल्याउने अनि खाने भनी जोखो गर्न थाल्यौं । आखिर हामीबाट पार लागेन, हाम्रो ईच्छा ईच्छै मात्र रह्यो ।
महिनौपछि लकडाउन खुकुलो भएको दोश्रो दिननै हामी नेपालगन्जको प्रशिद्ध त्रिभुवन चोकमा गयौँ र त्यहाँको पुरानो हलुवाई दुकानबाट ईमरती ल्याएर खाँदाको मज्जा बयान गर्न नै सकिँदैन ।
ज्ञातब्य रहोस्, ईमरती भनेको एक प्रकारको जलेबी (जेरी) हो । जुन पश्चिम नेपालको एक बिषेश मिठाई हो । अच्छा, नेपालगन्जको एक वर्ष देखिको बसाईमा धेरै नयाँ कुरा, खानेकुरा, बोलीभाषा, रितिरिवाज सिकिँदैछ, जानीदैँछ । मेरो आजको यस लेखका प्रमुख पात्र बेँकट जी मीठाईका अत्यन्त सौकिन, खोजी–खोजी खानु पर्ने बानी भएका छन् ।
नेपालगन्ज शहरमा अर्को खास पाईने मिठाई भनेको राबडी हो । ५०० देखि ६०० रुपैयाँ किलोग्राम पाईने राबडी दुई स्वादमा पाईन्छ । एउटा चिनी बिनाको अर्को चिनी सहित । र, यसलाई दुधलाई घोटीघोटी, घटाई–घटाई बनाईन्छ । हामीलाई ज्ञान भएसम्म मामाको पसलको राबडी, कान्हा डेरीको राबडी, धम्बोझीको राबडी तथा अन्य पनि प्रशिद्धनै छ । यहाँ एक किसिमले भन्नु पर्दा राबडी र ईमरती कल्चर नै छ । प्राय सबैको प्रिय मिठाई हो ईनीहरु । त्यसो त अरु मिठाईहरु पनि न पाईने होईनन् । तर, राबडी, ईमरती यहाँको बिशेष हो ।
अर्को प्रिय नास्ता भनेको १० रुपैयाँ गोटा पाइने समोसा पनि हो । यहाँ समोसासँगै चटनी र तारेको हरियो खुर्सानी पनि खाने चलन छ । जुन प्राय अन्यत्र भेटिन्न । त्रिभुवनचोक नजदिकको केहि पसल समोसैका लागि प्रख्यात छन् । साँझ प्राय पाईने समोसाको एउटा निश्चित बिक्री समय रहेको हुन्छ । त्यसो त धम्बोझी (बिरेन्द्र चोक) पनि माथिका सबै बस्तुका लागि प्रशिद्ध नै छ ।
नेपालगन्जको कुरो गर्दा, त्रिभुवन चोकको चाट, पानीपुरी, घमन्जा, पुडी, आलु, चना, हलुवा, बिरयानी पनि त्यत्तिकै स्वादको हुन्छन् । र, प्रत्येक जसो ठेलामा खानेहरु घुईँचो नै हुन्छ । रमाईलो प्रशँग के छ भने, त्यहि चोकको एउटै स्थानमा बिहान ४–५ बजेदेखि सानो कुरकुरे पुडी, चना, आलु, हलुवा पाईन्छ ( रु १०–२० मै) अर्को ठेलामा बिरयानी (प्राय साकाहारी), अनि ९–१० देखि घमन्जा (पकौडाहरुलाई साँधेको) , १–२ बजेदेखि चाट, पानीपुरी, टिक्की पाईन्छ ।
खासै अर्थमा भन्नु पर्दा यो त्रिभुवन चोक बिहान देखि रातीसम्म नै अन्य कारोबारका साथै खानपिनका लागि ब्यस्तनै रहन्छ । यहाँको माँसाहारी परिकारका होटेलहरु पनि प्रशिद्ध नै छन् । बिरयानी, रोस्ट लगायत अन्यका निमित्त स्थानीय र पर्यटक पनि यहाँ पुगेकै हुन्छन् ।
नेपालगन्जको बिभिन्न स्थानमा १२–१ बजे पश्चात पकौडा र समोसाको पसल लाग्ने गर्दछ । यहाँ अन्य शहरहरु जस्तो पकौडासँग भुजा चिउरा, घुगुनि (चनाको पिरो झोल) पाईँदैन । तर, तारेको खुर्सानी र अमचुरको अचार अनिवार्य रुपमा पाईन्छ ।
लेखक साकाहारी भएकाले त्यति ज्ञान नभए पनि मित्रहरुको जिब्रोमा झुण्डिएको मुबारकको बिरयानी, जायका बिरयानी, लखनउ बिरयानी ईत्यादि प्रशिद्ध होटलहरुको नाम नलिईरहन सक्दैन । यहाँ बढैया तालबाट ल्याइएको माछा र त्यस्को परिकार पनि प्रशिद्ध छ ।
मित्र श्री याम चौधरीका अनुसार भेरी अस्पतालदेखि पूर्वतिर गएको बाटोमा रहेको एसी होटलमा पनि स्वादिष्ट माछा र बट्टाईको परिकारहरु पाईन्छ । त्यहाँको प्रेसर कुकरमा पकाएको माछाको झोल त जाडोयाममा प्रशिद्धनै छ । बिपी चोकमा रहेको सुनाखरी रेस्टुरेण्ट, स्वस्तिक कटेज, सिग्नेट, कारकाँदोको सिद्धार्थ होटेल, किचन हट, अलि परको नमस्ते कटेज ईत्यादी पनि खानाका पारखीहरुको जमघट हुने थलो नै हुन् ।
सुनाखरीको बेईजिङ्ग चिकन, सिद्धार्थको फायर उड पिजा, नमस्तेको जङ्गली पनिर परिकार पनि स्वादिष्ट नै छन् । अब कुरो गरौँ सेकुवाको, धम्बोझीको भेटघाट सेकुवा, बिपी चोकको गण्डकी, सृजना, चौतारी तथा अन्य प्रशिद्ध सेकुवा पसलहरु पनि त्यतिकै खानपानका पारखीहरुका लागि फेरीफेरी जमघट गर्ने थलो नै हुन् ।
काठमाण्डौ पछि सोल्टीको वेस्टर्न च्याप्टर होटेल नेपालगन्जको भुजई गाउँ नजिक खुलेको छ । नेपालका अन्य शहरहरु भन्दा पृथक रुपमा यहाँबाट कैलाश मानसरोबर जाने तिर्थ यात्रुहरुको घुँईचो नै लागेको हुन्छ । यसैको कारणले गर्दा यहाँ ठुला होटलहरु खुल्न सम्भव भएका हुन् । प्रदेश ५ को प्रशिद्ध शहर नेपालगन्जबाट भारतका बिभिन्न शहर, लखनउ, कानपुर, दिल्ली, हरिद्वार, अयोध्या जान सुलभ छ । नेपाल र बोर्डरको रुपैडिहाबाट बिभिन्न स्थानमा जाने बससेवा पनि उपलब्ध छन् ।
आफ्नै पारामा द्रुत बिकासको बाटोमा लम्की रहेको यो शहर शाहीकालदेखी वर्तमानसम्मको ईतिहास हेर्दा राम्रै फड्को मारेको छ भनेर भन्नुपर्छ । कुनैबेला लखनउको हजरतगन्ज जस्तै बनाउन खोजिएको त्रिभुवन चोकदेखि शहिद सेतु बिक चोकसम्मको चोक आफैमा प्रशिद्ध छन् ।
राजनैतिक पार्टीका संस्थापक नेताहरुको नाममा राखिएको पुष्पलाल चोक, बिपी चोक, गणेशमान चोक पनि आफ्नो ख्यातीमा रमेकै छन् ।
अहिले वर्षातको समय छ । अर्थात आँपको सिजन । नेपालगन्जको दशहरी आँपको कुरो नहुनु भनेको के–के छुटेको छुटेको जस्तो हुनजान्छ । डाल कि (भरखर रुखबाट टिपेको अर्थ लाग्ने गरी) भन्दै स्थानीय बिक्रेताहरुले ठेलामा बेच्न राखेको बिभिन्न आँपमा दशहरी नै सबैको प्रिय रहन्छ । । । ईती शुभम । ।