नेपालगन्ज: नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएकाछन् । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो ।
थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको छ ।
थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
२३ मंसिर २०२५ मा भक्तपुरको कटुञ्जेमा जन्मिएका थापा पूर्वडीआईजी शम्भु थापाका छोरा हुन् । उनी संगठनभित्र व्यवसायिक एवं ईमान्दार अधिकृतका रुपमा चिनिन्छन् । प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेदेखि थापाले अधिकांश बढुवामा आफूलाई पहिलो नम्बर वरियताको अधिकृतका रुपमा उभ्याउँदै आएका थिए ।
यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।