नेपालगन्ज : बाँकेस्थित जनस्वास्थ्य कार्यालय हचुवाका भरमा यहाँका तीनवटा स्थानीय तहलाई कोरोना मुक्त घोषणा गरेको छ । मंगलबार साँझसम्म नेपालगन्जमा कोरोना संक्रमित सकिएको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका थिए । तर, बुधबार दिउँसो भेरी अस्पतालमा भएको कोरोना परीक्षणका क्रममा जनस्वास्थ्यले नै कोरोना मुक्त घोषणा गरेको नेपालगन्ज उपमहानगरपालिकामै दुईजना संक्रमित भेटिएका छन् ।
जनस्वास्थ्यले आम नागरिकको स्वास्थ्य परीक्षणबिनै बाँकेको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोना मुक्त भएको घोषणा गरेको छ । बाँकेमा जनस्वास्थ्यले आमनागरिकको स्वास्थ्य परीक्षण गर्न चासो देखाएको छैन् । उल्टै हचुवाका भरमा कोरोना संक्रमित सकिएको हावादारी सूचना सम्प्रेषण गरि आम नागरिकलाई त्रसित र भ्रमित बनाउँदै आएको ।
नेपालगन्ज उपमहानगर क्षेत्रमै करिब एक लाखबढी नागरिक बसोबास गर्दै आएका छन् । तर, स्वास्थ्य कार्यालय लगायत कोरोना परीक्षणको जिम्मेवारी लिएका निकायले अहिलेसम्म १० हजार नागरिकको पनि स्वास्थ्य परीक्षण गर्न सकेका छैनन् । यस्तो अवस्थामा कसरी उपमहानगरपालिका कोरोना संक्रमण मुक्त हुन सक्छ आम नागरिकको चासोको बिषय बनेको छ ।
बुधबार दिउँसोको पछिल्लो परीक्षणमा नेपालगन्जमा दुई जना कोरोना संक्रमित थपिएका हुन । थपिएका संक्रमितहरुमा नेपालगन्ज वडा नम्बर १४ का दुबै जना महिला रहेका छन् । उनीहरु २२ र ४५ वर्षका छन् । यसले पनि अझै उपमहानगर क्षेत्रमा संक्रमितको संख्या धेरै रहेको अनुमान गरिएको छ । सरकारले परीक्षणको दायरा बढाउन छोडेर उल्टै परीक्षणबिनै कोरोना मुक्त नगर घोषणा गर्नुले यस क्षेत्रका नागरिक अझै उच्च जोखिममै रहेको देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार बिहानसम्म कोहलपुर नगरपालिकाका १०, खजुरा गाउपालिका ४, राप्तीसोनारी २, जानकी र बैजनाथ गाउपालिकामा १–१ जना गरी १८ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमित बिरामी निको भएको भनिएको नेपालगन्जमा फेरि संक्रमित थपिनुले स्वास्थ्यको रिर्पोट हचुवा भएको प्रमाणित गरिदिएको छ । बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।
कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका तीन पालिकाका क्वारेन्टिन र आइसोलेसनमा रहेका सबै कोरोना संक्रमित निको भएको स्वास्थ्यले हचुवा रिर्पोट सार्वजनिक गरेको थियो । जबकि यी तीन पालिकामै माग र आवश्यकताअनुसार जनताको स्वास्थ्य परिक्षण हुन सकेको छैन् ।
नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित केस शून्य रहेको बताएका फोकल पर्सन श्रेष्ठ का अनुसार जिल्लामा १८ जना कोरोना संक्रमितले स्वास्थ्य उपचार लिइरहेकाछन् ।
बाँकेमा कोरोना भाइरस संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेकाछन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् । बाँकेमा अझै पनि २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्शन श्रेष्ठ बताउँछन् । बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केका छन् । दुईजनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ । जनस्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले पालिका सधै नभएर मंगलबार संक्रमित नभेटिएको भन्न खोजिएकोमा अन्यथा भएको बताएका छन् ।