कोरोना अपडेट : बुधबार थपिए २५५ संक्रमित


कोरोना अपडेट :  बुधबार थपिए २५५ संक्रमित

नेपालगन्ज : नेपालमा थप २ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या १६ हजार ४ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रवक्ता डाक्टर गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमाक अनुसार बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।

यसैबीच सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान समेत आग्रह गरेको हो । हालसम्म देशभर कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।