नेपालगन्ज : राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेको दुईदिनमै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएकोछ ।
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले दुईदिन दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न समेत सचेत गराएको छ ।
अन्सारीले गत असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् । लगत्तै आयोगका अध्यक्ष अनुपराज शर्माले आज (बिहिबार) विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् ।
संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।
उनको यस्तै रवैयाका कारण अन्सारीलाई आयोगले डेढ वर्षअघिनै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ ।
संविधान संशोधन विधेयकमा मतदान हुँदा पार्टी ह्विप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिसकेकोछ । योसगैं उनको सांसद पद पनि गुमेकोछ ।