जिल्लाभित्र गुड्नेगरि सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय


जिल्लाभित्र गुड्नेगरि सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

File Photo

नेपालगन्ज: कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थितीका बीच सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता एवंम अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरि यातायात सञ्चालन गर्न सक्ने बताए । यो सगैं सम्बन्धित जिल्लामा मात्र सार्वजनिक यातायातका साधन चल्ने भएकाछन् ।

सरकारले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न पाउने ब्यवस्था गरेको हो । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप पैसा तिनुपर्नेछ । उदहारण नेपालगन्जदेखि कोहलपुरसम्मको एकतफी भाडा ५० रुपैयाँ पर्नेमा अब एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

साथै चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । यस्तै सञ्चालनमा आएको उक्त साधन सोही दिन अनिवार्य निसंक्रमण पनि गर्नुपर्नेछ ।