भारतीय न्यूज च्यानलपछि वेबसाईट पनि बन्द


भारतीय न्यूज च्यानलपछि वेबसाईट पनि बन्द

नेपालगन्ज: विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रामक देखिएका भारतीय मिडियाहरुले पत्रकारिताको आधारभूत सिद्धान्तहरुभन्दा निकै टाढा पुगेर काल्पनिक कुराहरुलाई पनि सनसनीपूर्ण बनाइरहेको भन्दै नेपालमा प्रशारण हुँदै आएका सबै भारतीय न्युज च्यानल बिहीबारदेखि बन्द गरिएको छ ।

च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेको भोलीपल्ट अर्थात आज (शुक्रबार) देखि भारतीय वेबसाईट बन्द गर्ने सरकारले निर्देशन दिएकोछ ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिएसँगै भारतीय मिडियाहरु यतिबेला आक्रामक बनेका छन् ।

सरकारले आधिकारिक रुपमा भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय नगरे पनि सेवा प्रदायक संस्थाका प्रतिनिधिलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मौखिकरुपमा भारतीय च्यानलहरु बन्द गर्न निर्देशन दिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नकारात्मक बनेका भारतीय मिडियाहरुले ‘चरित्रहत्या’ गर्नेसम्मका सामग्रीहरु उत्पादन गरिरहेको सरकारको दाबी छ । केही भारतीय मिडियाहरुले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जोडेर समाचार प्रशारण गरिरहेका छन् ।