‘भारतीय मिडियाले प्रजातान्त्रिक कर्तब्य बिर्सिएकोछ’ : दी हिन्दुका पूर्वसम्पादक सिद्धार्थ


‘भारतीय मिडियाले प्रजातान्त्रिक कर्तब्य बिर्सिएकोछ’ : दी हिन्दुका पूर्वसम्पादक सिद्धार्थ

नेपालगन्ज : नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिएसँगै भारतीय मिडियाहरु आक्रामक बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रामक देखिएका भारतीय मिडियाहरुले पत्रकारिताको आधारभूत सिद्धान्तहरुभन्दा निकै टाढा पुगेर काल्पनिक कुराहरुलाई पनि सनसनीपूर्ण बनाइरहेको भन्दै नेपालमा प्रशारण हुँदै आएका सबै भारतीय न्युज च्यानल बिहीबारदेखि बन्द गरिएको छ ।

यसबीच भारतीय मिडियबाट नेपालप्रति गरिएको कपोकल्पित र भ्रामक समाचारप्रति भारतीय समाचार संस्था दी हिन्दुका पूर्वसम्पादक सिद्धार्थ बरदराजनले भारतीय मिडियाले आफ्नो प्रजातान्त्रिक कर्तव्य नै बिर्सिएको बताएका छन् ।

उनले भनेका छन्,‘संविधान, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने कानून र मिडिया प्लेटफर्महरू हुँदाहुँदै पनि हामीले तथ्यलाई कसरी तोडमरोड गरेर प्रायोजित विचारलाई स्थान दिइरहेका छौं, जसका कारण प्रेस स्वतन्त्रताको ¥याङकिङमा भारत लगातार खस्किरहेको छ ।’

यस्तै भारतमा मानवअधिकारसम्बन्धी कलम चलाउने अर्का पत्रकार रक्षा कुमारले भारतीय मिडियाले सत्तासँग साँचो बोल्न नसक्ने बताएकी छन् ।

उनले भनेकी छन्,‘भारतीय मिडियाहरुले सत्तालाई खुसी बनाउन तथ्यलाई बिगारेर सत्य लुकाउने र भ्रामक प्रचार गर्ने गरिरहेका छन् । विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा पत्रकारिता समस्यामा परेको छ । यसको नतिजा भयानक हुनसक्छ ।’

उनले थपेकी छन्,‘नयाँ आधुनिक भारतलाई परिभाषित गर्दा गलत समाचार र मिडियाप्रति कम विश्वासको युग सुरु भएको छ । ‘अशक्त पत्रकार’हरुको वर्गले थप भ्रम फैलाउने र कसैलाई प्रहार गर्न मनसायले समाचार लेख्दा लोकतन्त्रसमेत कमजोर बनाएको छ ।’

यसरी भारतकै अग्रज र दिग्गज पत्रकारहरुले भारतीय पत्रकारिता र उनीहरुले अङ्गालेको पद्धतीका बारेमा प्रष्टरुपमा भनिरहँदा पनि भारतीय मिडयाले पत्रकारिताको न्यूनतम सिद्धान्त र मापदण्डमै नरही कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण गरिरहेकाछन् । यसले भारतीय मिडिया प्रतिको विश्वास गुमेको आम भारतीयको भनाइ समेत रहदै आएकोछ ।