वडा कार्यालयको तीन वर्षे समिक्षात्मक पत्रकार सम्मेलन
नेपालगन्ज २ नम्बर वडा कार्यालयको समिक्षात्मक पत्रकार सम्मेलनमा सहभागि अतिथिहरु । तस्विर : सेतोखरी
नेपलागन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको ३ वर्षे कार्यकालमा झण्डै पौने तीन करोड बजेट खर्च गरेको छ । तीन आर्थिक वर्षमा दुई करोड ७४ लाख ९३ हजार १२८ रुपैयाँ खर्च गरेको वडा कार्यालयले जनाएको छ ।
जस अनुसार आव २०७४/०७५ मा ६७ लाख २९ हजार १२८ रुपैयाँ, आव २०७५/०७६ मा ६८ लाख २८ हजार रुपैयाँ र आव २०७६/०७७ मा एक करोड ३९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । सो बजेटबाट बिभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन भएको वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले बताए ।
अध्यक्ष हमालका अनुसार वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको तीन वर्षे कार्यकालको समिक्षात्मक पत्रकार सम्मेलनमा तीन वर्षको अवधिमा सम्पन्न गरेका कामहरुको जानकारी गराउँदै उनले विकासका कामलाई निरन्तरता दिँदै आएको बताए । उनले वडाको विकासका लागि वडापालिकाले सबै पक्षसँगको सल्लाह र सुझाव अनुसार काम गर्दै आएको पनि बताए ।
उनले सो अवधिमा विभिन्न सडक तथा नाला निर्माण, सार्वजनिक विद्यालयको स्तरोन्नती, सार्वजनिक शौचालय निर्माण, खानेपानी धारा जडान, वागेश्वरी मन्दिर प्रवेशद्वार निर्माण, वागेश्वरी पार्कभित्र फ्रि वाईफाइ जडान, एडिबीको योजनामा परेका विभिन्न १४ वटा सडकहरुको निर्माण र सडक बत्ती लगाउने काम लगायतका योजना सम्पन्न गरेको बताए ।
त्यस्तै वडामा रहेको बौद्ध पार्क सौन्दर्यकरण, सूचना प्रविधिमैत्री वडा बनाउन ४ स्थानमा वाइफाइ जडान कार्य अन्तिम चरणमा रहेको, वडालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयार गर्नुका साथै सेवाप्रवाह प्रभावकारी बनाउन हेल्प डेक्स स्थापना गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको वडाध्यक्ष हमालले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रसँगको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा वडा अध्यक्ष सुनिल सिंह हमाल, वडासचिव सुभाष पौडेल, पत्रकारद्वय विजय मल्ल तथा काशी दर्शन, लगायतले रक्तदान गरेका थिए ।
सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार कार्यालय नेपालगन्जलाई रगत परीक्षण तथा आवश्यक उपकरण, वस्तु समेत प्रदान गरिएको थियो ।