File Photo
नेपालगन्ज : अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका विभिन्न स्थानमा बाढीपहिरो जाने क्रम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र देशका ८ जिल्लामा बाढीपहिरो गएको छ ।
शुक्रबार बिहानदेखि गएको बाढिपहिरोमा परी हालसम्म २३ जनाको मृत्यु भएको छ, भने अझैं ३६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणले जनाएकोछ ।
प्राधिकरणका अनुसार म्याग्दीको धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजीकार्य जारी छ । भने म्याग्दीमा पहिरोमा ३५ घर समेत पुरिएको छ ।
यस्तै लमजुङको बेशीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले पुरिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
कास्कीको पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडामा पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सराङकोटमा पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन् ।
यस्तै यता रुकुम पश्चिममा पनि पहिरो गएको छ । आटबिसकोट नगरपालिका–३ रजेखोलामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ पुल्चोक र हिलेवस्तीमा पहिरो गएको छ । दर्जनौं घरहरुमा क्षति पुगेको छ । यद्यपी मानवीय क्षती भने भएको छैन ।
त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरो गएको छ । पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । यस्तै पाँचजना घाइते भएका छन् । यसैगरी दोलखामा पनि पहिरो गएको छ । दोलखाको निरी नगरपािलका – ५ लिडकलमा पहिरो गएको हो । पहिरोले २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।
यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा पनि पहिरो गएको छ । पहिरोमा एकजनाको मृत्यु भएको छ । बुधबार राती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन् । झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आह्वान समेत गरेकोछ । बेपत्ताहरुको उद्धार र खोजबिनमा स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् ।
यसअघि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै बिहीबारदेखि चार दिनसम्म देशभर भारी वर्षा हुने जनाउदै सर्तक रहन सुझाएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको थियो । यद्यपी वैशाखदेखि हालसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको बताउँदै सुरक्षित र सर्तक रहन आग्रह समेत गरेको थियो ।