File Photo
नेपालगन्ज : सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । गत जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
मौसम सम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएपछि मौसम सम्बन्धि पूर्व जानकारी पाउन सकिएको छैन । राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या हुने गरेको भएपनि पछिल्लो समय जेठ अन्तिम साता पुनः चट्याङले जेनेरेटर र युपीएसमा क्षति पुर्यापछि उक्त राडर बन्द छ ।
नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख पराजुली बताउँछन् ।
यतिबेला देश प्राकृतिक विपत्तीमा छ । विपद्को समयमा विग्रिएको उक्त राडर बनाउन सम्बन्धित कार्यालय मात्र होइन सरकार उदासिन देखिएकोछ ।
यद्यपी काठमाण्डौंबाट दुईपटक प्रविधिक टिम ल्याएर बनाउँदा पनि पूर्णरुपमा सञ्चालन गर्न नसकिएको भन्दै निमित्त प्रमुख पराजुलीले केी दिनमै सञ्चालन गर्ने गरी काम भैरहेको बताए ।
मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमै पहिलोपटक जडान गरिएको उक्त राडारबाट समयमै सही सूचना सहजरुपमा प्राप्त गर्न सकिन्छ । यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पु¥याउँछ । तर, त्यसो हुन सकेको छैन ।
उक्त राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ ।
यो राडरले मौसमी प्रतिकूलताका कारण हुने प्राकृतिक जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण टेवा दिने भएता पनि यसप्रति सरकारी उदासिनता रहदै आएकोछ ।
नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधि जडान गरिएको उक्त राडरले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई कभर गर्ने गर्छ ।