कर्णालीमा ढुवानी : हवाइ कम्पनीबिच कडा प्रतिस्पर्धा


कर्णालीमा ढुवानी : हवाइ कम्पनीबिच कडा प्रतिस्पर्धा

नेपालगन्ज : सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ । यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउन यता झण्डै १ सय रूपैयाँमा झरेको छ ।

ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीको मौज्दात बढेको छ । अहिले नेपालगन्ज र सुर्खेतबाट दैनिकजसो निजी एयरलाइन्सले उडान भरिरहेको छ ।

यसअघि जहाजले सामान ढुवानी गर्न नमान्दा नेपालगन्ज र सुर्खेतमा निर्माण सामग्री लामो समयसम्म थन्क्याउनुपर्ने बाध्यता रहेको थियो । लकडाउनयता सामान ढुवानीको सिन्डिकेट समेत हटेको छ ।

यात्रुको चाप नहुँदा पनि सामान ढुवानी सहज बनेको सीता एयरलाइन्स, सिमकोटका स्टेसन प्रमुख छेबेल लामा बताउँछन् । उनका अनुसार सीता एयरले अहिले नेपालगन्ज र सुर्खेतबाट प्रतिकिलो ९५ रुपैयाँमा सामान ढुवानी गरिरहेको छ ।

सिमकोट विमानस्थलका अनुसार समिट एयर र तारा एयरले १ सय रुपैयाँ प्रतिकिलो सामान ढुवानी गरिरहेको छ । चार्टर उडानमा नेपालगन्जबाट १० हजार र मुगुबाट नेपालगन्ज जाँदा ५ हजार ८ सय ३५ रुपैयाँ भाडा कायम गरिएको सीता एयरलाइन्स बताउँछ ।

कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा र मुगुमा हवाइ सेवा सुचारू भएको छ । लामो समयदेखिको लकडाउनका कारण खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव हुन थालेपछि हवाइ सेवा सुचारू भएको नेपाल नागरिक उडड्यन प्राधिकरण बताएको छ ।

उडान बन्द हुँदा विशेष कामले बाहिर जाने यात्रुहरु समस्यामा थिए । गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको थियो । हुम्लामा सडक सुविधा नहुँदा हवाइसेवाको विकल्प छैन । डोल्पा र मुगुमा वर्षाका कारण सडक यातायात बन्द छ ।

उडान सुचारूपछि हुम्लामा यस वर्ष खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव छैन । एक साता उडान रोकिए हुम्लामा उपभोग्य सामग्रीको हाहाकार मचिने सिमकोटका अगुवा लोटइ लामा बताउँछन् ।

जुफाल विमानस्थलमा असार पहिलो सातादेखि कार्गो उडान भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बताउँछन् । लकडाउनकै अवधिमा काठमाडौं र नेपालगन्जमा अलपत्र परेका स्थानीयलाई झण्डै एक दर्जन उडानबाट जिल्लामा ल्याइएको प्रजिअ सुनारले जानकारी दिए । अहिले डोल्पामा तारा र समिट एयरलाइन्सले सातामा १५ वटासम्म कार्गो उडान भरिरहेका छन् ।

मुगुस्थित रारा विमानस्थलमा ३ महिनापछि उडान थालिएको छ । सीता एयरलाइन्सले गृह मन्त्रालयको अनुमतिमा विमानस्थलमा उडान गरेको विमानस्थलका कर्मचारी किरण दाहाल बताउँछन् ।

एयरलाइन्सले सातामा १० फ्लाइट गर्ने सहमति भएको छ । जहाजमा यात्रा गर्ने व्यक्तिले अनिवार्य रुपमा आरडीटी वा पीसीआर रिपोर्ट बुझाउनुपर्ने नियम बनाइएको छ । जहाजमा सामाजिक दूरी कायम गएिको छ ।