४२ वर्षदेखि खजुराको मुख्य सडक बेवारिसे

सडक लागूऔषध प्रयोगस्थल बन्दै, तीन गाउँ प्रभावित


४२ वर्षदेखि खजुराको मुख्य सडक बेवारिसे

पेडारी खोलामा ४२ वर्ष अगाडी भत्किएको पुल । तस्विर : कमल न्यौपाने / सेतोखरी

नेपालगन्ज :२०२२ सालमा पुर्नवास लागू भएसँगै नेपालगन्जबाट खजुराको ‘बि’ गाउँदेखि गौघाट हुँदै बर्दिया जोडने सडक निर्माण भएको थियो । यो नेपालगन्जदेखि बर्दिया जोड्ने छोटो दूरीको मुख्य सडक हो । २०२४ सालमा ईट्टा प्रयोग गरि पक्की बनाइएको उक्त सडक खजुरा क्षेत्रकैै पहिलो पक्की सडक हो । जो अहिले जीर्ण, बेवारिसे छ तथा जङ्गलमा परिणत भइरहेको छ ।

बर्दियाबाट बाँकेको गौघाट हुँदै खजुराको कपास विकास समिति नजिक जोडिएर नेपालगन्ज आउँने उक्त पक्की सडक राजनीतिक दाउपेच र यहाँका जनप्रतिनिधीको व्यक्तिगत लाभका कारण ४२ वर्षदेखि कठै विचराको अवस्थामा छ ।

तत्कालिन अवस्थामा अहिलेको खजुरारोड कच्ची थियो । यद्यपी उक्त सडकबाट मानिसको आवतजावत हुँदैन थियो । बर्दियाबाट गौघाट, ‘एल’ गाउँ–‘ए’ गाउँ–‘बि’ गाँउ–धवलागिरी हुँदै कपास विकास समितिमा जोडिने उक्त सडक नै बर्दिया नेपालगन्जको मुख्य सडक भएको ‘बि’ गाउँका कृष्णबहादुर महतरा बताउँछन् ।

उनकाअनुसार २०३५ सालमा ‘बि’ गाउँमा रहेको पेडारी खोलाको पक्की पुल भत्किएको थियो । पुल भत्किएपछि केही दिन यहाँको सडक सञ्चाल भयो । तर, उक्त पुलको मर्मतपछि फेरि सडक सुचारू भएको उनी बताउँछन् । उक्त पुल २०३६ मा फेरि भत्कियो । तत्कालिन अवस्थामा पुल भत्किएपछि यसलाई फेरि मर्मत गर्ने वा नयाँ पुल निर्माण गर्ने तर्फ कसैको ध्यान गएन् । र, अहिले पनि गएको छैन् । राज्यमा ४२ वर्षमा तीन व्यवस्था फेरिए, तत्कालिन खजुरा गाविस अहिले सिङ्गो गाउँपालिका बन्यो । यसबिचमा थुप्रै जनप्रतिनिधीले यहाँबाट चुना जितेका छन् ।

अधिकाशं यहि सडकलाई चुनावी एजेण्डा समेत बनाएका थिए । तर, यसको मर्मत, सुधार र निर्माणका लागि अहिलेपनि यी कुनै जनप्रतिनिधीले चासो देखाउँन सकेका छैनन् । पुल दोस्रो पटक भत्किएकै ४२ वर्ष भैसकेको रहेछ ।

पुल भत्किएपछि उक्त सडकमा आवतजावत कम हुँदै गयो । खजुरामा सडक राजनीति पनि शुरू भयो । ‘बि’ गाउँकै स्थानीय गोरेलाल थापाका अनुसार तत्कालिन अवस्थामा गाविसदेखि जिल्ला विकास र संसदमा समेत अहिलेको खजुरा बजार क्षेत्रकै व्यक्तिको हालिमुहाली थियो ।
तत्कालिन अवस्थामा पेडारीखोलाको पुल भत्किएपछि यो सडकलाई बनाउँने भन्दा पनि बर्दिया नेपालगन्ज माथिबाट (अहिलेको खजुराबजार) लैजाने बिषयमा राजनीति चलेको थियो ।

अहिलेको खजुरा बजारको सडक तत्कालिन अवस्थामा कच्ची तथा साईकल हिड्न मिल्नेखालको मात्रै थियो । तर, ‘बि’ गाउँको उक्त सडक ईट्टाको पक्की थियो । जहाँ नेपालगन्जदेखि गौघाट हुँदै बर्दियाका लागि सवारी साधन दैनिक आवतावत गर्ने गरेका थिए ।

राजनीतिक पहुँचकै कारण पुरानो सडकलाई बेवास्था गरी खजुराको सडकलाई बर्दियासँग जोडिएको स्थानीय मनबहादुर थापा बताउँछन् । उनकाअनुसार राजनीतिक चपेटामा परेको उक्त सडकमा अहिलेपनि कहि कतै ईट्टा देखिन्छन् । ४२ वर्षदेखि उपेक्षित उक्त सडक अहिले जीर्ण बनेको छ । सडक पुुरिदै गएको छ । खोलाले पुलमा क्षति पुर्याएको छ । ४२ वर्षअघि गाडी गुडेको उक्त सडक अहिले सुनसान छ । सडक छेउछाउको दर्जनौं विघा जमिन बाँझै छ ।

सडक जङ्गलमा परिणत भएको छ । त्यसक्षेत्रमा बाघले आप्mनो बासस्थान बनाउँदैछ । थापाले भने ‘सडक अभावकै कारण धौलागिरीमा भएको विद्यालयमा ‘बि’ गाउँका वालबालिका पढ्न समेत जान छोडेका छन् ।’ तर, यसको मर्मत सुधार तथा सडक निर्माणमा गाउँपालिकाले कुनै चासो देखाएको छैन् ।

गाउँपालिकाको तीन नम्बर वडामा पर्ने उक्त सडक मर्मतका लागि पटक-पटक वडा र गाउँपालिकासँग आग्रह गरेपनि यी दुवै निकाय उदासिन रहेको स्थानीय बताउँछन् । उक्त सडक स्थानीय, प्रदेश तथा संघीय निर्वाचन ताका सबै दल र उम्मेदवारको पहिलो प्राथमिकतामा परेको ‘बि’गाउँका स्थानीय खेम बुढा बताउँछन् ।

उनकाअनुसार निर्वाचनपछि प्रदेश र संघीय संसदको त करै छोडौ गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति र यहि वडाका अध्यक्ष कान्तुराम गौतम समेत यस बिषयमा तैचुप मैचुपको अवस्थामा छन् । सडक मर्मत भई गाडी चल्न थालेपछि माथिल्लो सडक वा खजुरारोड पुर्ण रूपमा सुक्ने हुँदा र जनप्रतिनिधीदेखि खजुराका अधिकाशं उच्च अधिकारीको बसोबास रहेकोले पनि यो जीर्ण हुँदा गाउँपालिका समेत कानमा तेल हालेर बसेको स्थानीय बताउँछन् ।

अहिले पेडारीखोला पारीको क्षेत्र युवायुवतीको लागुऔषध प्रयोग गर्ने थलो बनेको छ । खेतीपाती बाँझोछ स्थानीय खेम बुढाले भने ‘सडक जङ्गल बनेको छ । दिउँसै बाघ आउँछ । पक्की सडकमा रहेका ईट्टा चोरी भैसकेका छन् । यसमा कसैको ध्यान छैन ।’

नेपालगन्जदेखि बि गाउँहुदै बर्दिया जोड्ने खण्डहर बनेको सडक । यो सडक ४२ वर्षदेखि बेवारिसे छ । तस्विर: कमल न्यौपाने /सेतोखरी

उक्त सडक पुनः निर्माण र मर्मतका लागि यसअघि गाउँपालिका र पालिकाका अध्यक्ष किस्मत कक्षपतिसँग बारम्बार बजेट माग गरिएको थियो । तर, उक्त सडक निर्माण नगर्ने मानसिकताकै कारण गाउँपालिका अध्यक्ष कक्षपतिले बजेट विनियोजन नगरेको ‘बि’ गाउँबासीको गुनासो छ । अहिलेपनि गाउँपालिकाले उक्त सडकका लागि बजेट नछुट्टाएको स्थानीय बताउँछन् ।

उक्त सडकका लागि बजेट माग गर्दा गाउँपालिका अध्यक्ष कक्षपतिको इशारामा वडा अध्यक्ष कान्तुराम गौतमले समेत बजेट नभएको बताउँदै आएको स्थानीइले जानकारी दिए । यो सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने गाउँपालिका अध्यक्ष कक्षपतिले भनेको स्थानीय ‘बि’ गाउँबासी बताउँछन् ।

उक्त सडक जीर्ण भई प्रयोगमा आउन नसक्दा गौघाट, ‘एल’ गाउँ ‘ए’ गाउँ, ‘बि’ गाँउ, धवलागिरी हुँदै कपास सविकास समिति आसपासका नागरिक प्रभावित भएका छन् ।

डिपिआर बन्दैछ : गाउँपालिका

विगत ४२ वर्षदेखि बेवारिस नेपालगन्जदेखि कपास विकास समिति, ‘बि’ गाउँ हुँदै गौघाट भएर बर्दिया जोड्ने पुरानो सडकको डिपिआर तयार गरिने भएको छ ।

तर, उक्त सडक खजुरा गाउँपालिकाको सभामा गरिएको बजेट विनियोजना तथा योजना छनोटमा परेको छैन् । स्थानीयको व्यापक बिरोध र दबाबका बाबजुद गाउँपालिकाले उक्त सडक निमार्णका लागि डिपिआर तयार गर्ने भएको हो । गाउँपालिकाको योजनामा नपरेपनि अहिले सडक निर्माणका लागि डिपिआर निमार्णको तयारी भैरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति बताउँछन् ।

उनकाअनुसा गाउँपालिकाले डिपिआर बनाउँने तयारी गरेको छ । उनले भने ‘हामी डिपिआर बनाउँने तयारीमा छौं । गाउँपालिकाले गर्न सक्ने भए पालिकाले बनाउँनेछ । यदि पालिककाले बनाउँन नसक्ने अवस्था देखिए निर्माणका लागि प्रदेशमा उक्त योजना पठाईने छ ।’ गाउँपालिका अध्यक्ष कक्षपतिकाअनुसार उक्त सडककै नाममा बजेट विनियोजन गरिएको छैन । उनले भने ‘विविध शिर्षकमा रहेको रकमबाट काम गर्न सकिन्छ ।’