नेपालगन्ज : आईतबार नेपालमा थप ८२ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आईतबार मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै नेपालमा थप ८२ जनामा संक्रमण देखिएको जनाए ।
आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
यस्तै मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ । भने कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ ।