नेपालगन्ज : बाँके प्रहरीले केही दिनयता मास्क नलाउनेलार्य कारबाही थालेको छ । कारबाही स्वरूप प्रहरीले ट्राफिकको सहयोगमा एक सय रूपैयाँ जरिवाना गर्ने गरेको छ । चेकजाँचका क्रममा मास्क नलाएका व्यक्तिले खुरूक्क प्रहरीले भनेअनुसारको जरिवाना पनि तिरेकाछन् । तर, आमनागरिकलाई जरिवाना गराएपछि प्रहरी वा ट्राफिकले जरिवना तिरे बापतको नगदी रसिद भने दिदैंन । रसिद नै नकाटेपछि उक्त रकमको कुनै लेखाजोखा हुने कुरै भएन् ।
यसले जसले जहाँ जति रकम असुली ग¥यो त्यो रकम उसैले झ्याम पार्ने देखिएको छ । आईतबार दिउँसो धम्बोझीमा प्रहरीले ट्राफिकको सहयोगमा करिब दर्जन नागरिकलाई मास्क नलगाएको भन्दै कारबाही गरेको छ । ती सबैबाट एक/एक सयका दरले रकमअसुली गरेको छ । तर, कसैलाई पनि रकम लिए बापतको नगदी रसिद दिएको छैन् ।
मास्क नलगाएको निहूँमा आईतबार त्यहि कारबाहीमा परेका दीपक खनालले आफूले कारबाही बापत सय रूपैयाँ तिरेको तर, प्रहरीसँग जरिवाना तिरेको रसिद माग्दा उल्टै झर्पादै रसिद नदिएको बताए । उनकाअनुसार नेपालगन्जको धम्बोझी, गणेशमान, पुस्पलाल चोक, कारकाँदो लगायतका चोकमा प्रहरीले यसरी नै कारबाही गरेको छ । तर, कसैलाई पनि जरिवाना बापतको नगदी रसिद दिएको छैन् ।
‘म भेरी हस्पिटलबाट आउँदै थिए । मास्कको डोरी चुडिएर लगाउनै नमिल्ने थियो । बिपीचोकमा प्रहरीको जाँचमा परे ।’–एक महिलाले भनिन्–‘अहिले नै किनेर लगाउँछु सर भन्दा भन्दै जीपमा कोचेर प्रहरी चौकी लगे ।’ मास्क लगाएर गल्ती गरेको महसुस गर्दा पनि प्रहरीले जर्वजस्ती गरेको ती महिलाको भनाई थियो ।
त्रिभुवन, वीपी, धम्बोझी लगायतका चोकबाट दर्जन बढिलाई प्रहरीले भ्यान र मिनि ट्रकमा सामाजिक दूरी समेत पालना नगराई कोचेर चारबाहिनीस्थित पहिलेको वडा प्रहरी कार्यालयमा लगेको नागरिक बताउँछन् ।
बाँके प्रशासनले केही दिनअघि आमनागरिकलाई मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारबाही गर्न मातहतका प्रहरीलाई निर्देशन पनि दिएको छ । तर, कारबाहीपछि लगिने एक सय रूपैयाँको नगदी रसिदको व्यवस्थापन प्रशासनले पनि गर्न सकेको देखिदैन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ र बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको निर्देशनमा नेपालगन्जमा मास्क नलगाएर हिड्नेलाई धमाधम पक्राउ गरिएको छ । जरिवाना तिराएको छ । तर, रसिद दिइएको छैन कारकाँदोका स्मृति डिसीकाअनुसार यसरी रसिदबीना लिएको रकम गैरकानूनी असुली नभएर के हुन्छ ?
बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ । मास्क नलगाएको बहानामा केही दिनयता प्रहरी रसिद बीनाको रकम असुल्दै आएको छ ।
मास्क लगाउँन प्रेरित गर्ने निहुँमा नेपालगन्जमा अबैध असुली बढेको स्थानीय बताउँछन् । प्रहरीले बिभिन्न बहानामा असुली गरिरहेकै हुन्छन् नेपालगन्जका प्रदीप ओलीले भने ‘अहिले मास्क नलगाएको निहुँमा सहजै असुली भैरहेको छ ।’ उनी थप्छन ‘असुली नभए जरिवानाको रसिद दिनुपर्दैन ।’
सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिएको स्थानीयको बुझाई छ । आमनागरिकका अनुसार मास्क नलगाएकालाई कारवाही गर्नु ठिक छ तर, कारबाहीपछि जरिवना गर्दा रसिद अनिवार्य दिनुपर्छ ।
नेपालगन्जका सडकमा डियुटीमा खटिएका प्रहरी मास्क नलाउँनेलाई कारबाही स्वरूप एक सय जरिवाना गर्न निर्देशन आएको बताउँछन् । उनीहरूका अनुसार सम्बन्धीत निकायले रसिद उपलब्ध गराएको छैन् । हामीले माथिको आदेश मान्ने हो धम्बोझीमा रहेका एक प्रहरीले भने आदेश बेगर केही गर्न र रसिद दिन सकिदैन् ।’
बिना रसिद जरिवाना बापत रकम असुलीबारे बुझन खोज्दा बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सूचना अधिकारी डिएसपी सुभाष खड्काको सरकारी तथा नीजि मोबाईमा सम्पर्क हुन सकेन् ।