बाँकेका ८ विद्यालय कालोसूचीमा, क्रान्तिकारी विरोधमा उत्रियो

अनलाइन पढाई : असुलीको माध्यम बन्दै


सेतोखरी सेतोखरी   सोमबार, असार २९, २०७७
बाँकेका ८ विद्यालय कालोसूचीमा, क्रान्तिकारी विरोधमा उत्रियो



नेपालगन्ज : बाँकेमा अनलाइन शिक्षाका नाममा निजि विद्यालयले अभिभावकबाट चरम असुली गरेको खुलेको छ । सरकारले अनलाइन शिक्षा प्रदान गरे वापत कुनैपनि शुल्क लिन नपाईने भनेको छ । तर, बाँकेमा ठूला निजि विद्यालयले समेत सरकारको नीति नियमको उल्लङ्घन गर्दै चरम असुली गरेका छन् । अनलाईन कक्षाका नाममा मनोमानी रुपमा शुल्क उठाएको भन्दै बाँकेको एक सामुदायिक सहित ८ वटा विद्यालयमा कालो ब्यानर टाँगिएको छ । अखिल क्रान्तिकारी बाँकेका नेता डिबि शाहीले लकडाउनको मौका छोपी कमाउ धन्दामा लागेका विद्यालयको गेटमा अखिल क्रान्तिकारी बाँकेले कालो ब्यानर टाँगेको बताए ।
बन्दाबन्दिको समयमा अनलाईन शिक्षाको नाममा शुक्क उठाउने कोहलपुरको त्रिभुवन नमुना मावि, युनाईटेड एकेडेमी बोर्डिङ स्कुल, हिमालय विद्या निकेतन, वेष्टर्न एकेडेमी, वागेश्वरी एकेडेमी, आदर्श बोर्डिङ स्कुल, कोहलपुर वागेश्वरी बोर्डिङ स्कुल र एबिसी आवासिय बोर्डिङ स्कुलमा अखिल क्रान्किारीले कालो ब्यानर टाँगेको हो ।
क्रान्तिकारीले पहिलो चरणमा चेतावनी स्वरुप कालो ब्यानर टाँसेको बताएको छ । बन्दाबन्दीको अवस्थामा विद्यार्थी तथा अभिभावकसँग लिएको शुल्क फिर्ता गर्न माग गरिएको छ । क्रान्तिकारीले अनावश्यक शुक्क उठाउने कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । यदि उक्त कार्य नीजि विद्यालयले बन्द नगरे अझै शसक्त आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी छ ।
यहाँका नीजि विद्यालयले यसरी असुली गर्दा पनि अभिभावक, सरोकारवाला निकाय, अधिकारकर्मी तथा अनुगमनकर्ताहरू समेत उदासिन छन् । सरकारले अनलाइन पढाईको बिषयमा शुल्क नलिने भनेको होप एकेडेमीका सञ्चालक सुरेशकुमार गौतम बताउँछन् । एक फेसबुक स्टार्टसमा कर्मेन्ट गर्दै उनले कसैले शुल्क तिर्छ भने स्वयम् व्यक्ति जवाफदेही बन्नुपर्ने बताए । उनकाअनुसार, रकम नलिएर अनलाइन कक्षाहरू चलिरहेका स्कुलहरू पनि छन । उनले बाँकेको कोहलपुरमा तक्ष्यशिला, नेपालगन्जमा होप इन्टरनेशनल एकेडेमीले शुल्क नलगेको बताएका छन् । बाँकेमा यी दुई मात्र होइन दर्जनौं निजी विद्यालय सञ्चालनमा छन् ।