कोरोना कहर : ३ प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति


सेतोखरी सेतोखरी   सोमबार, असार २९, २०७७
कोरोना कहर : ३ प्रयोगशालालाई पिसिआर परीक्षण अनुमति

 

नेपालगन्ज : सरकारले कोहलपुरको बागेश्वरी सहित थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो।

जसमा काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशाला छन्। यसअघि पनि काठमाडौंका तीन वटा प्रयोगशालालाई परीक्षण अनुमति दिइएको थियो। जसमा कमलपोखरीस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याब, केएमसी अस्पताल र स्टार अस्पतालको प्रयोगशाला छन्।

योसँगै जम्मा ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिइएको छ। अनुमति पाए पनि कुनै पनि निजी प्रयोगशालाले कोरोना परीक्षण सुरू गर्न सकेका छैनन्। सरकारले सरकारी प्रयोगशालामा बढी भएका स्वाब निजीलाई परीक्षण गर्न दिने भनेको छ। त्यसैले अहिले सरकारी प्रयोगशालाहरूमा बढी स्वाब संकलन नहुँदा निजी प्रयोगशालाहरूले स्वाब पाएका छैनन्।

निजी प्रयोगशालाहरू आफैंले परीक्षण गर्न भने पाउने छैनन्। मन्त्रालयले बढी भएको स्वाबमात्र निजीलाई परीक्षण गर्न दिने र एउटा स्वाब परीक्षण गरेबापत् ५ हजार ५ सय रुपैयाँ दिने भनेको छ। मन्त्रालयले यसअघि सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि निजी प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको थियो। सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी प्रयोगशालाहरूलाई अनुमतिको लागि निवेदन दिन आह्वान गरेको थियो।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार १९ वटा निजी प्रयोगशालाहरूले परीक्षण अनुमतिको लागि निवेदन दिएका थिए। तीमध्ये अहिलेसम्म ६ वटाले अनुमति पाएका छन्। बाँकी प्रयोगशालाहरूले भने केही तयारी नपुगेको भन्दै समय मागेको र तयारी पुगेपछि अनुगमन गरेर मापदण्ड पुगेकालाई अनुमति दिइने गुप्ताले बताए।