नेपालगन्ज : वर्षायाममा बाँकेका विभिन्न पालिकाका वस्ती बर्सेनि जलमग्न हुने गरेका न् । धनमालको ठूलो क्षति हुने गरेको । तर, यसको दीर्घकालिन समस्या समाधानको प्रभावकारी उपाय भने नेपालगन्ज् उपमहानगरपालिकासहितका पालिकासँग छैन । वस्ती डुबिसकेपछि प्रभावित परिवारलाई स्कुललगायतका सार्वजनिक स्थानमा खाने–बस्ने व्यवस्था गर्ने बाहेक समस्याको दीर्घकालीन समाधान पहिल्याउन बाँकेका सरोकारवाला उदासिन देखिन्छन् ।
निर्वाचन ताका यहाँको बाढी, डुवान सबै दलको पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । तर, निर्वाचनपछि त्यसको कार्यान्वयन हुँदैन् । यसले आमनागरिक हरेक बर्ष उत्तिकै डुबान र बाढीको जोखिममा देखिन्छन् । यस वर्ष पनि मनसुन सक्रिय भएर वस्ती डुबानमा परिसकेका छन् । खजुरा, डुडुवा, जानकी लगायतका गाउँपालिकामा खेतियोग्य जमिन कटान तथाडुबान भई सकेको छ । तर, यसको दीर्घकालिन समस्या समाधानका लागि जिल्लास्थित विपद व्यवस्थापन समिति उदासिन छ ।
बाँकेको नेपालगन्ज् उपमहानगरपालिकाकै विभिन्न वडा डुबानमा पर्ने गरेका छन् । कोहलपुर नगरपालिकामा पनि यहि समस्या छ । तर, यी स्थानीय तहले समेत डुबानबाट वडा र नगर क्षेत्रलाई बचाउन प्रभावकारी पहल गरेको देखिदैन् । यसका लागि बर्षेनी लाखौंको बजेट विनियोजन हुन्छ तर, उक्त बजेट खर्च भएरैपनि समस्याको समाधान हुन सकेको छैन् ।
डुबान र बाढीका नाममा हरेक बर्ष खर्चिने लाखौंको बजेट वालुवामा पानी सरह हुँदै आएको छ । यहाँका स्थानीय तहले जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्ने, विपदमा परेकालाई अस्थायी रुपमा राख्न स्कुल र धर्मशालालाई तयारी अवस्थामा राख्ने, खानेकुरा जुटाउने, नियमित सडक मर्मत गर्ने, औषधि उपचारका लागि आवश्यक व्यवस्था मिलाउने, उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्ने, आवश्यक सामाग्रीको प्रवन्ध गर्ने, राहतका लागि एकद्वार प्रणालीमा जाने तयारी तयारी गरेपनि दीर्घकालिन समस्या समाधानका लागि कुनै योजना नबनेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत बताउँछन् ।
बाढी र डुबानबाट बढी प्रभावित क्षेत्रका जनप्रतिनिधीसँग समस्या समाधानका बिषयमा छलफल भैरहेको विपद व्यवस्थापन समितिले बताएको छ । जोखिम बस्तीहरु पहिले नै सार्दा ठीक हुने अवस्था देखिए त्यसो पनि गर्नुपर्ने र विस्थापितलाई पायक पर्ने स्कुल र धर्मशालामा बस्ने व्यवस्था मिलाउनुपर्ने विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ बताउँछन् ।
उनकाअनुसार यसका लागि समितिले आबश्यक तयारी गरिरहेको छ । गएको बर्षपनि डुबानका कारण नेपालगन्जमै करोडौंको धनमालमा क्षति पुगेको थियो । उपमहानगरपालिकाकै लापरवाहीले यहाँका थुप्रै वडा डुबानमा परेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् । वर्षायाममा विशेषगरी राप्ती नदी छेउका बस्ती डुबानमा पर्ने गरेका छन् । त्यसबाहेक उपमहानगरपालिकाका विभिन्न वडा, जानकी, खजुरा लगायतका सबै गाउँपालिकाका विभिन्न क्षेत्रका बासिन्दा बाढी र डुबानबाट बढी प्रभावित हुँदै आएका न् ।
नगर क्षेत्र बर्सेनि डुबानमा परे पनि समस्या समाधानका लागि उपमहनागरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरवासीको गुनासो छ । हरेक बर्ष बाढी र डुबानबाट पीडितका उद्दारमा प्रहरी संगठनसँग जनशक्ति तयारी अवस्थामा हुन्छ । तर, आवश्यक औजार उपकरणको अभाव हुने गरेको छ । उपमहानगरपालिकासँग विपद व्यवस्थापनका सन्दर्भमा कुनैपनि लिखित कार्ययोजना छैन । समस्याको दिगो समाधानका लागि कुनै योजना छैन । बाढीले बर्सेनि क्षति हुने गरेको छ । तर, कहाँ, कति क्षति हुन्छ ? कहाँ कस्तो प्रभाव पर्छ ? त्यहाँ के गर्नु जरुरी छ ? यस बिषयमा कुनै सोधखोज तथा लेखाजोखा गरिदैन् । तीनचार दिन अघि परेको पानीका कारण खजुराको पेडारीखोला नजिकको सडक समेत डुबानमा परेको थियो । चारलेन सडक निर्माणको योजनामा रहेको खजुरा गाउँपालिकाले अहिले यहाँको डुवानका बिषयमा कुनै चासो नदेखाएको स्थानीय बताउँछन् ।