साउन १५ देखि राप्तीसोनारीका विद्यालय खुल्दै


सेतोखरी सेतोखरी   सोमबार, असार २९, २०७७

 

नेपालगन्ज : कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्तीसोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, प्रधानाध्यापक लगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कुनै विषम परिस्थिति नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारु बताउँछन् । विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुले बताए ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांस वडामा विद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

‘विद्यालय खुल्नुभन्दा पहिले सबै विद्यालयलाई स्यानिटाइज गरिनेछ,’ उनले भने । गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पुर्व तयारी स्वरुप साउन १५ बाट विद्यालय खोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘साउन १५ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ ।

यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ । ’ उक्त गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । कोरोना भाइरस प्रभावित बिद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालनजस्ता शैक्षिक गतिविधि चलाएको शाखा प्रमुख न्यौपाने बताउँछन् ।