हिलाम्मे र जिर्ण भएको बाँकेको परसपुर-गौघाट सडक
नेपालगन्ज : बाँकेको परसपुरदेखि गौघट जोड्ने १३ किलोमिटर पक्की सडक दैनिक जीर्ण बन्द गएको छ । यसको मर्मत सम्भार तथा निर्माणका लागि सम्बन्धीत निकाय उदासिन देखिएको छ । यसले यस सडकमा आवतजावत गर्ने सवारी साधन र आमनागरिकलाई सास्ती हुँदै आएको छ । जताततै सडकमा खाल्डाखुल्डी छन् ।
पानी पर्दा ती खाल्डाखुल्डीमा पानी जम्ने र सडक नै जलमग्न हुने गरेको छ । कालोपत्रे उत्रिएको ठाउँमा त सडक हिलाम्मे हुँदा तीब्र गतिमा गुडिरहेका कतिपय सवारी साधन चिप्लिएर दुर्घटना समेत पर्ने गरेका छन् । सडकको अवस्था दयनिय छ । तीन मिटर कालोपत्रे गरएको उक्त सडकमा अहिले कालोपत्रे उत्रिएर एकदेखि डेढ मिटरमा सिमित छ । कतिपय ठाउँमा त त्यहि पनि छैन् ।
जानकी र खुजरा गाउँपालिका भित्र पर्ने उक्त सडक ममृत तथा पुन निर्माणका लागि दुवै गाउँपालिका उदासिन छन् । सडक डिभिजन कार्यालय समेत यस बिषयमा गम्भीर हुन सकेको छैन् । यता नेपालगन्ज उपमहानगरपाकिलाले आफनो क्षेत्रसम्मको सडक विस्तारसहित कालोपत्रे गरिसकेको छ ।
उक्त सडक निमार्णका लागि खजुरा तथा उक्त सडक क्षेत्रका नागरिक समेतले चासो देखाएका छैनन् । उक्त सडक भएर साँसद नन्दलाल रोकाय, बाबुराम गौतम र नेकपाका नेता रत्न खत्रीगायतका व्यक्ति अधिकाशं समय आवतजावत गर्दै आएका छन्। उनीहरूले सडकको अवस्था नजिकबाट निहालेका छन । तर, यसको मर्मतका लागि कुनै पहल गर्न नसकेको स्थानीय ऋषि पोखरेल बताउँछन् ।
स्थानीयबासी ऋषि पोखरेल आफनो फेसबुकवालमा उक्त सडक सुधार हुनुपर्नै माग सहित लेख्छ ‘लौ न हजुर हाम्रो गाउँको कथा, (परसपुर गौघाट) सडक कथा लेखिदिनु प¥यो, बोलिदिनु प¥यो । हाम्रा तिरकाको त बोली खोइ किन हो बन्द छ ?’ खजुराका विकासप्रेमी नेता, पत्रकार र नागरिक समाजसँग निराश हुँदै पोखरेल फेसबुकवालमै थप्छन ‘अब बाहिरकैले बोलिदिए केही हुन्थ्यो कि ? अनुगमन देखि निर्माण सम्मको आशामा छौ । कलम चलोस । जय जयकार हामी गर्छौ ।’
परसपर गौघाट सडकको बारे समाचार लेखिदिन उनले बिलौना समेत गरेका छन् । यसअघि बाँकेमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रदेश साँसद गौतमले सार्वजनिक कार्यक्रममै उक्त सडकको तत्कालै मर्मत सुधार तथा विस्तारसहित निर्माण हुने बताएका थिए । तर, अहिलेसम्म उक्त सडकको विस्तार र निर्माणका लागि एक प्रतिशत पनि काम अघि बढेको छैन् । प्रदेश साँसद गौतमले उक्त सडकका लागि ३२ करोड बजेट विनियोजन गरेको बताएका थिए ।
त्रिबर्षिय योजनामा परेको भनिएको उक्त सडक र सडकको नामको बजेट अहिलेपनि खर्च हुन सकेको छैन् । तर, उक्त बजेट अहिले कहाँ छ ? यसको कुनै लेखाजोखा छैन् । सडकको अवस्था दैनिक जीर्ण बन्दै छ । विनियोजित बजेट अलपत्र छ । जनताले सास्ती भोगिरहेका छन् । स्थानीयदेखि प्रदेश र संघीय जनप्रतिनिधी रमिते देखिएका छन् । जीर्ण परसपुरदेखि गौघाट सडक विस्तार र सुधारको पखाईमा छ ।