बाँके - बर्दियाका किसानलाई एक करोड राहत


सेतोखरी सेतोखरी   सोमबार, असार २९, २०७७
बाँके - बर्दियाका किसानलाई एक करोड राहत

 

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेश अन्तर्गत बाँके र बर्दियाका किसानले कोभिड १९ राहत प्राप्त गरेका छन । प्रदेश सरकार मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालगन्जले १ सय १० जना बोइलर कुखुरा पालक किसानलाई र ९ वटा दुग्ध उत्पादक सहकारीलाई राहत अनुदान दिइएको हो ।

बाँके र बर्दियाका बोइलर कुखुरा पालन गर्ने र सहकारी मार्फत दुग्ध विक्रि गर्ने किसानका लागी १ करोड ३ लाख ७८ हजार ३ सय रुपैया राहत अनुदान स्वरुप वितरण गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारी बताउँछिन् ।

उनकाअनुसार १ सय १० कुखुरा फार्म दर्ता गरेर संचालन गरेका किसानलाई र १९ वटा दुग्ध सहकारीहरु मार्फत किसानलाई कोभिड १९ महामारिका बेला भएको नोक्सानलाई केहि भएपनि राहत स्वरुप आर्थिक सहयोग गरेको हो । १ सय १० बोइलर कुखुरा पालक किसानका लागी ५२ लाख ३ हजार ३ सय र १९ दुग्ध सहकारीलाई ५१ लाख ६५ हजार ६ सय रुपैया वितरण गरेको हो ।

कोभिड १९ बाट नोक्सानी बेहोर्न बाध्य किसानहरुका लागी राहत स्वरुप ५ नम्बर प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ । दुग्ध उत्पादक कृषक र बोइलर कुखुरा पालन गर्ने किसानलाई राहत अनुदान कार्यक्रम अन्तर्गत मन्त्रालयले सहयोग गरेको हो ।

दुग्ध कारोबार गर्ने सहकारी सस्था मार्फत किसानहरुलाई प्रति लिटर १० रुपैया अनुदान, मासु उत्पादनका लागी कुखुरा पालनगर्ने साना कृषकहरुलाई प्रोत्साहन अनुदान अन्तरगत ५ सय भन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकका लागी प्रति चल्ला १ सय रुपैया अनुदान रकम दिएको छ । कोरोना भाइरसको असरले गर्दा किसानहरु मारमा परेको भन्दै प्रदेश सरकारले किसानको मागलाई ध्यानमा राख्दै राहतको योजना ल्याएको थियो ।