नेपालगन्ज : नेपालमा मनसुनी वायु कायमै रहेता पनि भारी वर्षा नहुने जल तथा मौसम विभागले जनाएको छ । आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेता पनि मनसुनी वायुका कारण अजा (बुधबार) दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएकोछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्ने जनाएकोछ ।
मौसमविदका अनुसार अहिले पनि प्रदेश नम्बर १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ । गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।
मौसमविदका अनुसार आज दिउँसो प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोछ । यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।