नेपालगन्ज : नेपाल पत्रकार महासंघ दैलेख शाखासँग सूचना माग गरिएको छ । पत्रकार महासंघ र पत्रकारका नाममा विकृति तथा विसंगतिका साथै असुली र कमिशनको चलखेल बढेको नागरिक स्तरबाट थुप्रै गुनासा आएपछि नेपाल पत्रकार महासंघ दैलेख शाखाका संस्थापक सचिव समेत रहेका बरिष्ठ पत्रकार तथा सूचना अभियन्ता कमल न्यौपानेले बुधबार महासंघसँग प्रक्रियामै गएर लिखित रूपमा सूचना माग गरेका हुन् ।
सरकारी तथा गैरसरकारी निकायको निगरानी गर्ने र उनीहरूका गतिविधीको समाचार लेख्ने पेशामा रहेका पत्रकारकै बिषयमा जनस्तरमा कुरा उठेपछि जनभावनाको कदर गर्दै महासंघ दैलेख शाखाको अवस्था र यसका गतिविधीका बारे नागरिकलाई जानकारी दिन सूचना माग गरिएको हो ।
शाखाका अध्यक्ष चक्र केसीलाई सम्बोधन गरि गरिएको सूचना मागपत्रमा २०६४ देखि २०७४ सालसम्म महासंघमा भए गरेका गतिविधी र आम्दानी तथा खर्चको विवरण बिल भरपाईसहित उपलब्ध गराईदिन आग्रह गरिएको छ ।
२०६४ अघि तदर्थ समिति रहेको दैलेखले त्यसपछि शाखाका रूपमा आधिकारीक निर्वाचित पदाधिकारी पाएको थियो । २०६४ यता बिष्णुप्रसाद शर्मा, पुस्कर थापा, नमनकुमार शाहीले महासंघको नेतृत्व गरेका थिए । अहिले चक्र केसी महासंघको अध्यक्ष छन् ।
महासंघमा सूचना मागको पत्र पुगेपछि आफनो प्रतिक्रिया दिदैं नेपाल पत्रकार महासंघ दैलेखका वर्तमान अध्यक्ष चक्र केसीले सूचना मागको निवेदन परी सकेकोले आफूले महासंघका तर्फबाट मागिएको सूचना उपलब्ध गराउँन पहल गर्ने बताएका छन् ।