डेढ दशक अघिको विवाद समाधान


डेढ दशक अघिको विवाद समाधान

नेपालगन्ज : राँझास्थित आदर्श माविको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुलाई स्थानान्तरण गरिएपछि जग्गाको किचलो सदाका लागि साम्य भएको छ । सम्वाद समूह, बाँकेको निरन्तर सम्वाद प्रक्रिया र वडा न २० वडा समिति कार्यालयको अग्रसरतापछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्त्य भएको हो ।

विद्यालयको नेपालगन्ज–२० गायत्रीनगरस्थित ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका थिए ।  २५ घर परिवार गत वर्ष नै उत्तर (नाली किनार)तर्फ सरेपनि बाँकी घरपरिवारलाई वडा कार्यालयले क्रमीक रुपमा व्यवस्थापन गरेको हो ।

विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिसकिएको छ भने अधिकांस परिवारले अन्यत्र घर बनाएर बसीसकेका छन् । वडाकै सहमतीमा यसपाली विद्यालयको पश्चिमतर्फ १५, दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको हो । सम्वाद समूह, बाँकेको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्वासी÷भूमिहिन, विद्यालय र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमती गरिएपछि व्यवस्थापन प्रक्रिया शुरु भएको थियो ।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूह, बाँकेले दुई वर्षदेखि सरोकार पक्षसँग सम्वाद सहजीकरण गर्दै आइरहेको थियो । गृह मन्त्रालयले गत मंसीरमा विद्यालयको जग्गा खाली गर्न प्रशासनलाई परिपत्र गरेपछि थप दबाब बढेको थियो ।

वडा कार्यालयले ३१ घरपरिवारलाई ५०/५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत २३ जनालाई ५०/५० हजार उपलव्ध गराइएको थियो ।

यस अघि नेपालगन्ज उपहानगरपालिकाद्वारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठित अध्यन समितीले ४४ घरपरिवार वास्तविक सुकुम्वासी रहेको ठहर गरेको थियो । तथापी अपांग, नागरिकता समेत नभएका गरि थप घरपरिवारलाई पनि व्यवस्थापन गर्नु पर्ने सुझाएको थियो ।

गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई सञ्चालन भइरहेपनि बस्तीकै कारण हो हल्ला हुने, पढाईमा बाधा पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो । राँझा चोकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नुपर्ने बाध्यात्मक स्थिती रहेको थियो ।

वडा नम्बर २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले निरन्तरको सम्वादबाट विद्यालयले आफ्नो जग्गा र सुकुम्वासीले बास पाएकोमा खुसी भएको बताए । विद्यालय र वस्ती व्यवस्थापनका लागि वडाबाट अहिले सम्म करिव ५० लाख खर्च गरिसकिएको उनी बताउँछन् ।

बस्ती व्यवस्थापनको काम सकीएपनि बाटो, नाली निर्माण, खानेपानी लगायतका काम अझैं जारी रहेको कार्कीको भनाई थियो । विद्यालयका प्राचार्य प्रकाश आचार्यले वस्ती व्यवस्थापनको अथक प्रयास सफल भएकोमा खुसी प्रकट गर्दै विद्यालयको समग्र विकासमा थप योजनासहित अघि बढ्ने जिम्मेवारी बढेको बताए ।

२००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा छ ।