अनलाइन कक्षा बन्द : शिक्षक–कर्मचारीलाई बेतलबी बिदा


अनलाइन कक्षा बन्द : शिक्षक–कर्मचारीलाई बेतलबी बिदा

नेपालगन्ज : आमजनस्तरबाट आलोचना र विवाद आएपछि निजी विद्यालयले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने भएका छन् ।

शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् । नीजि विद्यालयको मागलाई सरकारले चासो नदेखाएपछि आत्तिएका विद्यालय सञ्चालकहरूले साउन एक गतेदेखि अनलाईन कक्षा बन्द गर्ने निर्णइ गरेका हुन् ।

सरकारले शुल्क उठाउन पाउनुपर्नेलगायतका नीजि विद्यालयका माग सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

कोभिड–१९ महामारी रोकथामका लागि २०७६ साल चैत्र ११ गते देखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्थाहरु लगातार पूर्णरुपमा बन्द छन् । तर, अनलाइन कक्षाको निहुँमा नीजि विद्यालयले चरम रकम असुली अभियान चलाएका थिए ।

यतिबेला बजार, उद्योग–व्यवसाय, निजी÷सार्वजनिक सवारी–साधन लगायतका क्षेत्र सञ्चालनमा आएता पनि भौतिक रुपमा विद्यालयहरु सञ्चालन भएका छैनन् ।

सरकार शिक्षा मन्त्रालयले २०७७ साल आषाढ १ गते देखि लागू हुने गरी ‘वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको थियो । उक्त निर्देशिकाको अधीनमा रहने गरि हामी संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु शुरू भएका थिए ।

इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफएम मार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गर्दै नीजि विद्यालयहरूले अभिभावकबाट रकम असुली चलाएका थिए । यो अभियान बाँके लगायत देशभर चलिरहेको छ । बाँकेमा चरम असुली गरेको भन्दै अखिल क्रान्तिकारीले समेत कतिपय नीजि विद्यालयमा कालो ब्यानर टाँसेर विरोध जनाएको थियो ।