नेपालगन्ज : नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमित भन्दा निको हुनेको संख्या तिव्र भएर आएकोछ । कोरोना भाइरस संक्रमणको दर बढिरहेकै बेला पछिल्लो समय संक्रमित भन्दा निको हुनेको संख्या बढेको पाइएकोछ ।
नेपालमा बुधबार थप ६ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
योसहित नेपालमा हालसम्म ११ हजार २५ जना उपचारपछि निको भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
यस्तै मन्त्रालयका अनुसार बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ । हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो । २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबारसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
यसैबीच मन्त्रलायका अनुसार विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
आज थपिएका ११६ जनासहित नेपालमा संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।